एक महिनामै १५ गुणाले बढ्यो विद्युत आयात, अझै पनि एक दशक भारतकै भर पर्नुपर्ने

पुष ४, काठमाडौं ।
नेपालमा विदयुत आयात एक महिना नपुग्दै १५ गुणाले वृद्धि भएको छ । गत महिना मंसिर ५ गते जम्मा ६ लाख युनिट विद्युत भारतबाट आयात भएकोमा पुस २ गते ८६ लाख ५३ हजार युनिटभन्दा बढी विद्युत आयात भएको छ ।

यो परिमाण विद्युत प्राधिकरण र निजी क्षेत्रका प्रवर्द्धकले उत्पादन गर्ने विद्युतको भन्दा धेरै हो । अहिले विद्युत प्राधिकरणको ८० लाख युनिट विद्युत आपूर्ति हुँदा निजी क्षेत्रको ७८ लाख युनिट विद्युत राष्ट्रिय प्रणालीमा आपूर्ति भइरहेको छ ।

नेपालमा सुक्खायाम सुरु भएसँगै नदिमा पानीको सतह तीव्र रूपमा घटिरहेको छ । अब गर्मी सुरु भएर हिउँ नपग्लिएसम्म नदिमा पानीको बहाव बढ्ने अवस्था छैन ।

नेपालमा फागुनदेखि मात्रै हिउँ पग्लिएर पानीको सतह बढ्न सुरु हुने भएकाले पुस र माघमा आयातित विद्युतको हिस्सा थप बढ्ने अनुमान गरिएको छ ।

चिसो बढेसँगै विद्युत खपत पनि बढिरहेको छ । एक महिनाको अवधिमा दैनिक विद्युत खपत पनि ६० लाख युनिटले बढेको छ । मंसिरको सुरुवातमा दैनिक एक करोड ८० लाख युनिट हाराहारी मात्रै विद्युत खपत हुने गरेकोमा पुसको सुरुवातसँगै विद्युत खपत दुई करोड ४५ लाख युनिट भन्दा बढी पुगेको छ ।

यो अवधिमा विद्युतको उच्चतम माग पनि करिब ४०० मेगावाटले बढिसकेको छ । एक महिना अघिसम्म अधिकतम एक हजार मेगावाट रहेको विद्युतको उच्चतम माग अहिले १ हजार तीन सय ७० मेगावाट पुगेको छ ।

वर्षातमा उत्पादित विद्युत खेर गएको भनेर चौतर्फी आलोचना भएकोमा अहिले हिउँदमा भने सरकारी र निजी क्षेत्रको उत्पादित भन्दा भारतीय विद्युतको हिस्सा बढी छ ।

हिउँदको माग धान्नको लागि नेपाललाई कम्तिमा अहिलेको जडित क्षमताको आधा क्षमताका जलाशय तथा अर्धजलाशययुक्त आयोजना आवश्यक हुन्छन् । तर नेपालमा भने १३ सय मेगावाट विद्युत उत्पादन क्षमता हुँदा पनि १०२ मेगावाट मात्र जलाशययुक्त आयोजना र ३०० मेगावाट जतिका अर्धजलाशययुक्त आयोजना छन् ।

हिउँदको माग व्यवस्थापनको लागि तत्कालै थप ३०० मेगावाट क्षमताका यस्ता जलविद्युत आयोजना बनाउनु पर्छ ।

बहुप्रतिक्षित ४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट विद्युत उत्पादन सुरु भयो भने हिउँदको माग व्यवस्थापनमा केही सहज हुने छ । तर तामाकोशी पनि अर्धजलाशययुक्त आयोजना मात्रै भएकोले हिउँदमा भारतीय विद्युतमा रहेको परनिर्भरता भने तत्काल अन्त्य हुने सम्भावना नरहेको विद्युत प्राधिकरणका उच्च अधिकारीहरु नै बताउँछन् ।

कुलेखानीपछि नेपालमा थप जलाशययुक्त आयोजनाको निर्माण अघि बढेको छैन । १४० मेगावाट क्षमताको तनहुँ सेती जलविद्युत आयोजना जलाशययुक्त भनिएपनि यसले पनि हिउँदमा त्यतीधेरै विद्युत उत्पादन गर्न सक्ने अवस्था छैन ।

त्यसमा पनि यो आयोजना पूरा हुन कम्तिमा ५–७ वर्ष लाग्ने सम्भावना छ । यो बाहेक अरु जलाशययुक्त आयोजनाको निर्माण अघि नबढेकाले नेपालले आगामी १० वर्ष भन्दा बढी समयसम्म हिउँदमा भारतकै भर पर्नुपर्ने अवस्था छ ।