पुष ४, काठमाडौं ।
सिंगिङ रियालिटी शो इन्डियन आइडलकी जजसमेत रहेकी गायिका नेहा कक्कडले दुई महिना अघि विवाह गरिन् । श्रीमान् रोहन प्रीत सिंहसँग उनले खिचाएको फोटोलाई लिएर उनी गर्भवती भएको आशंका गरियो ।
तर उनले आफ्नो आउन लागेको गीतको पब्लिसिटीका लागि उक्त तस्वीर खिचाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ‘अब ख्याल राख्ने गर’ क्याप्सनसहित इन्स्टाग्राममा उनले राखेको तस्वीरपछि उनी गर्भवती भएको हल्ला चलेको थियो ।
त्यसमा रोहनप्रीतले पनि ‘अब त झन् बढी ख्याल राख्नुपर्छ’ भन्दै कमेन्ट गरेका थिए भने गायक तथा नेहाका भाइ टोनीले समेत ‘अब म मामा बन्ने भएँ’ भनेर खुसी व्यक्त गरेका थिए । कतिपय भारतीय कलाकारले त यो जोडीलाई बधाई दिनसमेत भ्याइसकेका थिए ।
तर भारतीय मिडिया रिपोर्टका अनुसार उक्त तस्वीर उनी र रोहनप्रीतको आउन लागेको म्युजिक भिडियोको सुटिङका क्रममा लिइएको हो । २४ अक्टोबरमा दुवै जना वैवाहिक बन्धनमा बाँधिएका थिए ।







