चिसो बढेसँगै तराईको जनजीवन निकै कष्टकर बन्दै

पुस ,०४ बुटवल । तराईका जिल्लाहरुमा चिसो अत्याधिक बढेपछि जनजीवन कष्टकर बनेको छ । शुक्रबारदेखि तराईका अधिकांश जिल्लाहरुमा सितलहर तथा चिसोसँगै बाक्को हुस्सुले जनजीवन प्रभावित भएको हो । जाडो याममा तराईमा देखिने शीतलहरको समस्याले विगतमा जस्तै यस वर्ष पनि लुम्बिनीका रुपन्देही, नवलपरासी, कपिलवस्तु, दाङ, बाँके बर्दिया लगायतका जिल्लाहरुमा एक्कासी बढेको चिसोलले दैनिकी कष्टकर बनेको हो । दिनभरी नै लाग्ने हुस्सु र कुहिरोका कारण घाम लाग्न नसकेपछि मानिसहरु अत्यावश्यक बाहेक घर बाहिर निस्कन सकेका छैनन् ।

चिसोवाट वृद्धवृद्धा, बालवालिका र दैनिक मजदूरी गरेर जिविका चलाउने वर्ग बढी प्रभावित हुने गरेका छन् । पहाडी क्षेत्रका जिल्लामा पारिलो घाम लाग्दा यतिबेला तराईका जिल्लाहरु भने कुहिरो र हुस्सुले ढाकिने गर्छन् । लामो समयसम्म हुने शीतलहरका कारण देखिने डढुवा रोगको प्रकोपले आलु, गोलभेँडा, तोरीलगायतका बाली नष्ट हुने समस्या स्थायी समस्या भइसकेको छ ।

आलु, गोलभेँडाको खेती पछिल्ला दशकमा व्यवसायिकरुपमा भइरहे पनि वर्षेनी देखिने डढुवा रोगको प्रकोपवाट यी बाली जोगाउन किसानलाई मुश्किल हुने गरेको छ । यो रोगबाट जोगाउन कतिपय किसानले ‘टनेल’(पारदर्शी प्लाष्टिको छानासहितको टहरो) बनाएर त्यस मुनि गोलभेँडा लगायतका तरकारी बालीको खेती गर्ने गरेका पनि छन् । टनेलको व्यवस्थापन गर्न नसक्ने कतिपयले बिषादी पनि छर्किने गरेका छन् ।