प्रचण्ड-नेपाल पक्षले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्ने

पुष, १४ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले सरकारविरुद्ध आज राजधानी सहित देशव्यापी प्रदर्शन गर्दै छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरूद्ध प्रदर्शन गर्दै छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विटघन गरेपछि बसेको प्रचण्ड–माधव पक्षीय केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष ओलीलाई कारबाही गर्दै उनीविरुद्ध आन्दोलनका कार्यक्रम तय गरेको थियो ।

सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुरका कार्यकर्ता बानेश्वर चोकमा भेला भएर प्रदर्शन सुरू गर्ने कार्यक्रम तय भएको छ।

त्यसैगरी मकवानपुर, धादिङका कार्यकर्ता कुलेश्वर टेकुबाट, नुवाकोट र रसुवाका कार्यकर्ता लैनचौर, ललितपुरका कुपन्डोलमा ११ बजे भेला हुने कार्यक्रम छ।

काठमाडौंका टेकुचोक, लैनचौर, नक्साल, घण्टाघर, रत्नपार्क र बागबजार क्षेत्रबाट पनि प्रदर्शन हुने नेकपा केन्द्रीय समितिले जनाएको छ।

विशेष गरी वागमती प्रदेशभरको शक्ति काठमाडौंमा केन्द्रित गर्न लागेको नेकपाले बिहान ११ बजे सुरु हुने प्रदर्शन काठमाडौंका ६ ठाउँबाट जुलुस शुरु हुने जनाएको छ ।

भृकुटीमण्डपको सभालाई अध्यक्ष प्रचण्ड, अर्का अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल लगायतले सम्बोधन गर्नेछन् ।