४ असार, काठमाडौं । पोखरा स्थित गण्डकी बोर्डिङ स्कूलको भुतपूर्व विद्यार्थीहरुको संगठन पूर्व गण्डकी बोर्डिंग स्टूडेन्टस् एशोसिएसन (एग्बोसा, काठमाडौं)ले आज वीर अस्पताल काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी कोरोना भाइरस संक्रमण (कोबिड-१९) रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
उक्त स्वास्थ्य सामग्रीहरु संस्थाकी अध्यक्ष डा. सुजिता हिराचनले वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरी र राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डा. सन्तोष पौडेललाई हस्तान्तरण गरिन् ।
एन ९५ माक्स, सेनिटाइजर, सेनिटाइजर डिस्पेन्सर, सर्जिकल माक्स, फेस सिल्ड लगायतका स्वास्थ्य सामग्रीहरु दुवै स्वास्थ्य संस्थालाई प्रदान गरिएको थियो ।
अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीहरुलाई सहयोग गर्ने हेतुले एग्बोसा, काठमाडौंले सहयोग जुटाएर उक्त स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराएको हो ।
यसपछि टिचिंग अस्पताल र उपत्यका बाहिर लुम्बिनी अस्पतालमा पनि उस्तै खालको सहयोग प्रदान गर्ने संस्थाकी अध्यक्ष डा. सुजिता हिराचनले बताइन् ।
उक्त अवसरमा पूर्व गण्डकी बोर्डिंग स्टूडेन्टस् एशोसिएसनका सदस्य तथा वीर अस्पतालमै कार्यरत डा. अनिल बराल, डा. दीपक मल्ल, डा. अपार रायमाझी र एग्बोसा, काठमाडौंका सदस्य पूर्ण पन्त, डा. सितलकाजी श्रेष्ठ लगायतको उपस्थिती थियो ।
सो अवसरमा वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरी र राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डा. सन्तोष पौडेलले स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराएकोमा एग्बोसा, काठमाडौंलाई आभार प्रकट गरे ।











