प्रेम आलेले वन फडानी गरेको मिसिल चाहिए म पठाइदिउला : नेता रावल

पुस ,२४ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका नेता भीम रावलले नवनियुक्त वनमन्त्री प्रेम आले आफैँमा वन तस्कर भएको र उनले अदालतमा मुद्वा खेपीरहेको आरोप लगाएका छन् ।

शुक्रबार काठमाडौंम आयोजित अछाम काठमाडौं सम्पर्क मञ्चको भेलालाई सम्बोधन गर्दै नेता रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले माग गरेको खण्डमा आलेले वन तस्कर गरेको मिसिल पठाइदिने बताए ।

‘धनगढीमा प्रधानमन्त्रीले गज्जको भाषण गर्नुभएछ– एक जनालाई वनमन्त्री बनाएको हुनाले वन फडानी गर्न चाहनेहरु डरले त्रसित भए,’ रावलले भने, ‘उहाँले जुन वनमन्त्रीप्रति संकेत गर्नुभएको छ, ती वनमन्त्रीले वन फडानी गरेर वन तस्करी गरेको मिसिल हामी सबैसंग छ, केपी ओलीलाई चाहियो भने माग गर्नुहोस् म पठाइदिउँला ।’

वनमन्त्री आलेको नाम नलिएका नेता रावलले धनगढीमा गएर प्रधानमन्त्रीले वनमन्त्रीलाई जोडेर गरेको ब्यङ्ग्य उल्टो भएको टिप्पणी गरे । ‘कहिलेकाही केपी ओलीजीका ब्यङ्ग्यहरु अलि अलि सुल्टा हुन कि जस्तो लाग्थ्यो । यहाँ त केपी ओली जिको ब्यङ्क्य उल्टो भएर उहाँकै टाउकोमाथि बज्रेको देख्दा कुनै बेला आफैले काम गरेको पार्टीको अध्यक्षको यस्तो स्थिति देख्दा मलाई अप्ठ्यारो अप्ठ्यारो लागिराछ ।’

नेकपा ओली समुहले धनगढीमा गरेको कार्यक्रममा वनमन्त्री आलेले पनि सम्बोधन गरेका थिए । मन्त्री आलेले वनमन्त्री पार्टी मिल्न नदिने काम भीम रावलको भएको आरोप लगाएका थिए । आलेले रावललाई तुच्छ रहेको समेत टिप्पणी गरेका थिए ।

आलेको भाषण लाइभ सुनिसकेर काठमाडौंको कार्यक्रममा सम्बोधन सुरु गरेका नेता रावलले मन्त्री आलेको भाषणमा भन्दा प्रधानमन्त्रीको भाषणमा टेकेर आलेलाई वन तस्करको आरोप लगाएका हुन् ।

‘कमरेडहरु भन्नुहोस्– जुन व्यक्तिको मुद्वा काठ तस्कर भनेर अदालतमा छ । निज वनमन्त्री भयो भनेर काठ तस्करीमा लाग्नेहरु वन फडानी गर्नेहरु डराए रे !’ नेता रावलले भनेका थिए ।