२४ असार, काठमाडौं । समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टीबाट निष्कासन गरेको छ ।यससँगै गिरी सांसद पदबाट समेत पदमुक्त भएकी छन् ।
पार्टी महासचिव रामसहायप्रसाद यादवको नेतृत्वमा बनेको तीन सदस्यीय कार्यदलले गिरीलाई कारबाही गर्न सिफारिस गरेको थियो । त्यसैअनुसार कारबाहीको निर्णय भएको समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए ।
लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरीले संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् ।
पार्टीले संशोधन फिर्ता लिन र विधेयकको पक्षमा मतदान गर्न निर्देशन दिए पनि उनले अटेर गरेकी थिइन् ।
अदालत जाने चेतावनी
सांसद सरिता गिरीले आफूलाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन गर्ने पार्टी निर्णयविरुद्ध अदालत जाने बताएकी छन् ।
आफूलाई पार्टीले षडयन्त्र गरेर पदबाट हटाएको गिरीको गुनासो छ ।
समाजवादी पार्टीले मंगलबार कारवाही गर्ने निर्णय गरेलगत्तै उनले भनिन्, ‘अनुशासनको कारवाही गर्ने अधिकार केन्द्रीय समितिलाई मात्रै छ, यो अवैधानिक निर्णयलाई अदालतबाट चुनौति दिन्छु ।’
गिरीको ठाउँमा सिटौला सांसद बन्ने
समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई पार्टीले कारवाही गरेर सांसद पदबाट हटाउने निर्णय गरेपछि अब ललितपुर निवासी लीला सिटौला प्रतिनिधिसभा सदस्य बन्ने भएकी छिन् ।
सिरहा निवासी सरिता गिरी समाजवादी पार्टीबाट खस आर्य महिलाको कोटामा समानुपातिक सांसद बनेकी थिइन् । पार्टीको कारवाहीपछि अब उनको सांसद पद समाप्तिसँगै बन्दसूचीमा उनीभन्दा मुनि रहेकी लीला सिटौला स्वतः सांसद बन्न पाउने छिन् ।
ललितपुर महानगरपालिका वडा नम्बर १३ निवासी सिटौला समाजवादी पार्टीकी केन्द्रीय सदस्य हुन् । उनी पुरानै वामपन्थी कार्यकर्ता हुन् ।
यसअघिकै चुनावमा सिटौला सांसदको दाबेदार थिइन् । तर, सरिता गिरीले लफडा गरेपछि लीलाको नाम पछाडि राखेर उनको नाम माथि राखिएको समाजवादीका नेताहरु बताउँछन् ।
तत्कालीन संघीय समाजवादी फोरमले समानुपातिकतर्फबाट ६ सीट पाएको थियो । त्यसमध्ये एक पुरुष र ५ महिला सांसद बनेका थिए ।
पुरुषतर्फ आदिवासी जनजातिको कोटामा राजेन्द्र श्रेष्ठ सांसद बनेका थिए । खस आर्यको कोटामा सरिता गिरी छानिएकी थिइन् । आदिवासी जनजाति महिलामा रेनुका गुरुङ, दलित महिलामा कलुदेवी विश्वकर्मा, मधेसी महिलामा रेणुकुमारी यादव र मुस्लिम महिलामा रुही नाज छानिएका थिए ।
अब सरिता गिरीलाई पार्टीले कारवाही गरेपछि खस आर्य महिलाको कोटा रिक्त हुनेछ । बन्दसूचीमा सिटौलाको नाम सरिता गिरीको मुनि रहेकाले अब उनी सांसद बन्ने निश्चित देखिएको छ ।
निर्वाचन आयोगले रिक्त समानुपातिक सांसदमा बन्दसूचीमा जो पछाडि छ, उही सांसद बन्ने स्पष्ट पारिसकेको छ । यसै साता कांग्रेस सांसद ज्ञानुकुमारी छन्त्यालको निधन भएकोमा आयोगले उनीपछि रहेकी सुवर्ण ज्वारचनलाई सांसद बनाउनुपर्ने स्पष्ट पारेको छ । अब यही नजीरअनुसार सांसद बन्नका लागि लीला सिटौलाको भाग्य खुलेको हो ।







