वैज्ञानिक सुदीप खड्का भन्छन् : तातोपानीले कोरोनालाई जितिन्न

१५ भदौ, काठमाडौं। नेपालकै छैटौँ कोरोना संक्रमित बागलुङ नगरपालिका–३ की ६५ वर्षीया मनकुमारी पौडेलले कोरोनामुक्त भएर अस्पतालबाट बाहिरिने क्रममा भनेकी थिइन्, ‘मैले आत्मबल र तातोपानी खाएरै कोरोना जितेँ।’

बागलुङको धौलागिरि अस्पतालको आइसोलेसनमा उपचार गरेकी उनलाई दुई हप्ताको बीचमा एक दिन उच्च रक्तचापबाहेक कुनै पनि औषधिको प्रयोग गर्नुपरेन। चैतमा पहिलो पटक देखिएका दुई सङ्क्रमितको एकै स्वर थियो, ‘स्वास्थ्यकर्मीको व्यवहार, आफ्नो आत्मबल र खानपानको व्यवस्थापनले नै कोरोना जित्यौँ।’

बागलुङ जिल्लाका आइसोलेसन र प्रि–आइसोलेसनको तथ्याङ्कअनुसार निको भएका अधिकांशमा कोरोना सङ्क्रमणको लक्षण नै थिएन। उनीहरु कसैले पनि न त खोपको प्रयोग गरे न औषधि नै। सबैले भन्ने एउटै हो, ‘ढुक्कले बसेँ, समाचार पढेँ, तातोपानी खाएँ, कोरोना जितेँ।’

तर, आइसोलेसनमा बसेर तातोपानी खाँदैमा वा आत्मबल बढाउँदैमा कोरोना नजितिने विशेषज्ञले बताएका छन्। ‘कोरोना निको हुन्छ, ९८ प्रतिशतमा ग्यारेन्टीका साथ निको हुन्छ। त्यसमा दुईमत रहेन’, अमेरिकामा रहेका जीवाणु वैज्ञानिक (भाइरोलोजिष्ट) सुदीप खड्का भन्छन्, ‘कोरोनाको न त कुनै औषधि प्रमाणित छ न खोप, तातोपानी र आत्मबलले निको हुने रोग होइन, खेलबाड नगरौँ।’ उनी इबोला भाइरसको सुई पत्ता लगाउने वैज्ञानिकमध्येका एक हुन्।

लक्षण नदेखिएका अधिकांश बिरामी निको हुने भएकाले तातोपानी, आत्मबल र जडीबुटीको भ्रम परेको हुन सक्ने उनी बताउँछन्। ‘कोरोना लागे पनि तातोपानीले जितिन्छ भनेर भ्रममा नपरौँ, यो गलत हो’, खड्काले भने, ‘लक्षण भएका र जोखिममा रहेका बिरामीलाई कठिन हुन सक्छ।’

अरु भाइरसभन्दा कोरोनाकोे फैलावट धेरै भएकाले यो रोगसँग खेलबाड गर्न नहुने उनको सुझाब छ। नेपालमा पछिल्लोपटक समुदायमा फैलिएको सङ्क्रमणले थप खतराको सङ्केत गरेको भन्दै उनले इबोलाभन्दा कम मृत्युदर भएको कोरोनाले धेरैको मृत्यु निम्त्याउन सक्ने चेतावनी दिए।

‘एक तिहाइ मान्छेलाई यसको लक्षण नै देखिँदैन, जुन झन् खतरनाक हो’, खड्काले भने, ‘अहिले हामीले सबै निको हुन्छ भनेर हेलचेक्र्याईं गर्दा दुई प्रतिशतमा पर्ने उमेर पुगेको समूहलाई निकै कठिन हुन सक्छ।’ कोरोनाको औषधि वा खोप तयार भएर तत्काल आउने सम्भावनासमेत नरहेको उनको भनाई छ।

‘इबोलाको खोप सबैभन्दा छोटो समयमा बनेको हो, जसका लागि दुई वर्ष लाग्यो,’ उनले भने, ‘कोरोनाको निम्ति तयार भएका खोप तेस्रो परीक्षणमा रहेको भए पनि त्यसको उपलब्धता अझै कठिन छ। खोप बने पनि त्यसको उत्पादन सबैलाई पुग्ने गरी बनाउन कति समय लाग्ला भन्न सकिन्न। त्यसैले हामीले सतर्कता अपनाउनुको विकल्प छैन।’

विदेशमा जस्तो नेपालमा सङ्क्रमण फैलिँदैन भनेर चलेका हल्लासमेत भ्रमपूर्ण रहेको उनले बताए। सचेत नबने आगामी दिनमा थप खतरा बढ्न सक्ने चिन्त उनले व्यक्त गरे। अस्पताल, भेन्टिलेटर र आइसियु लक्षण भएका बिरामी र कोरोनाका कारण कठिन अवस्थामा रहेका बिरामीको लागि तयार राख्नुपर्ने खड्काको सुझाव छ। रासस