प्रतिनिधिसभा विघटनः आजबाट संवैधानिक इजलासमा जवाफी बहस सुरु

फागुन, २ काठमाडौं । आजबाट प्रतिनिधिसभा विघटनविरुद्धको संवैधानिक इजलासमा रिटमाथि जवाफी बहस सुरु हुने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले जवाफी बहसमा निवेदक पक्षका बढीमा पाँचजनालाई बोल्न दिने तयारी गरेका छन्।

विपक्षी सरकारी पक्षको बहस गत बिहीवार सकिएको हो । प्रधानमन्त्री केपी शर्मा ओली पक्षका वकिलले इजलासमा उठाएका तर्कमा रिट निवेदक पक्षले आज जवाफ दिनेछन् । नेकपाका प्रमुख सचेतक देव गुरुङका तर्फबाट वरिष्ठ अधिवक्ताहरू रमण श्रेष्ठ, शम्भु थापालगायतले जवाफी बहस गर्ने छन्। अन्य १२ निवेदकका तर्फबाट क–कसले जवाफ दिने भन्ने इजलासबाट समय दिएपछि मात्र थाहा हुनेछ।

जवाफी बहस सकिएपछि एमीकस क्यूरीमा रहेका पाँच जनालाई समय दिइने छ । एमिकस क्युरीमा नेपाल बार एसोसिएसनका तर्फबाट बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल, विजयकान्त मैनाली, सर्वोच्च बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्य र गीता पाठक संग्रौला छन्।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेपछि त्यसविरुद्ध सर्वोच्चमा १३ वटा रिट परेका थिए।