संघीय तानाशाहलाई रोकिएन भने हरेक प्रदेशमा तानाशाहहरु जन्मिन्छन’

३ फागुन, काठमाडौं । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीय तानाशाहको संज्ञा दिएका छन् ।

सोमबार सर्वोच्च अदालतको संवैधानिक इजालसमा जवाफी बहस गर्दै ९४ वर्षीय वरिष्ठ अधिवक्ता भण्डारीले संघीय तानाशाह (केपी ओली)लाई नियन्त्रण गर्न नसके हरेक प्रदेशमा प्रादेशिक तानाशाह जन्मिने बताए ।

‘कुनै पनि अविश्वासको प्रस्ताव ल्याउनु अघि सरसल्लाह हुन्छ । सरसल्लाह भएपछि थाहा पाइहालिन्छ । अविश्वास प्रस्ताव आउँदैछ भन्ने थाहा भएपछि विघटन गरिदिइहाल्ने । अहिले भएको त्यहि हो’ भण्डारीले भने, ‘संघको यो नजिर कायम गरिदियो भने प्रदेशहरुमा समेत अविश्वासहरुको प्रस्ताव आउनै सक्दैन् । यो बुझेर संघीय तानाशाहलाई रोकिएन भने हरेक प्रदेशमा सात वटा तानाशाह जन्मिन्छन् । एउटा तानाशाह भनिरहँदा सात सात वटा जन्मिन्छन् ।’

संघीय तानाशाहलाई रोक्न प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने उनको जिकिर छ ।

‘लालमोहर लागेपछि होइन, राजपत्रमा प्रकाशित भएपछि लागू हुन्छ’

प्रतिनिधिसभा विघटन भएर लामो समय राजपत्रमा सूचना प्रकाशित नभएकोतर्फ इंकित गर्दै वरिष्ठ अधिवक्ता भण्डारीले कुनै पनि निर्णय लालमोहर लागेपछि नभएर राजपत्रमा प्रकाशित भएपछि लागू हुने बताए ।

‘लालमोहर लागेको मितिमा निर्णय लागू हुँदैन, राजपत्र जारी भएको मितिमा निर्णय लागु हुन्छ’ उनले भने ।

प्रतिनिधिसभा विघटन पुस ५ गते भएको थियो । तर, राजपत्रमा प्रकाशित नभएको भन्दै संवैधानिक इजालसमा माघ ८ गते कुरा उठ्यो । त्यसपछि सरकारले रातारात प्रकाशित गरेर माघ ९ गते इजलासमा पेस गरेको थियो ।

राजपत्रमा सूचना प्रकाशन भए भन्दा पहिल्यै संसद्‍मा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएकोले उक्त अविश्वासको प्रस्ताव बैध रहेको वरिष्ठ अधिवक्ता भण्डारीको भनाइ छ ।