१६ भदौ, काठमाडौं। नेपालका लागि बेलायतका पूर्वराजदूत रिचर्ड मोरिसको शव फेला परेको छ।
बेलायतको बेन्टुलीस्थित आफ्नो घर नजिकैको पार्कमा गत मे ६ तारिख बिहान दौडिन निस्किएका मोरिस बेपत्ता भएपछि बेलायत प्रहरीले उनको खोजी गरिरहेको थियो।
ह्याम्पसायर प्रहरीले नियमित कसरतका लागि जाने एलिस हल्ट जङ्गलमा मोरिसको शव फेला पारेको हो। मृतक मोरिसको पहिचान औपचारिकरूपमा भइनसकेको भए पनि प्रहरीले उनको परिवारलाई शव फेला परेको जानकारी गराइसकेको छ।
यसअघि इष्ट हेमसायर प्रहरी कार्यलयले तीनपटकसम्म सर्वसाधारणका लागि खोजीकार्यमा सहयोग गर्न अपिल जारी गरेको थियो। अन्तिमपटक जारी अपिलसँगै रिचार्ड मोरिसको नयाँ तस्वीर सार्वजनिक गरिएको थियो। जुन तस्वीर नेपालमा खिचिएको थियो।
रिचर्ड मोरिसले सन् २०१५ देखि २०१९ सम्म नेपालका लागि बेलायती राजदूतका रूपमा काम गरेका थिए।
बेलायतको परराष्ट्र कार्यालयले पछिल्लोपटक निकालेको विज्ञाप्तिमा मोरिस निकै महत्वपूर्ण व्यक्तित्व रहेको र फराकिलो सम्बन्ध राख्न सक्ने व्यक्तिका रूपमा परिचित रहेको जनाएको छ। मोरिसका तीन सन्तान र एक श्रीमती छन्। रासस







