फागुन,७ काठमाडौ।पुसमा प्रतिनिधिसभा विघटन भएपछि नेकपा यतिखेर सबैभन्दा धेरै तनावमा छ ।नेकपा नाम चुनाव चिन्ह सूर्यमा नेकपाका दुवै समूह प्रचण्ड र ओलीसमूहको दाबी रहेपछि यो विवाद झन् पछि झन् चर्केर जाने देखिएको छ ।दुवै दलले निर्वाचन आयोगमा पटकपटक आफूहरु आधिकारिक रहेको दाबी गर्दै निवेदन पेश गर्दै आएका छन् ।
यसमा पनि बहुमत बढी केन्द्रीय सदस्यको पकड रहेको प्रचण्ड समूहले नियमित दाबी गरे पनि आयोगले सो समूहलाई आधिकारिक मान्न आनाकानी गरेको छ ।
यसले सो समूहलाई निक्कै चिन्ता थपिदिएको छ ।
६२ प्रतिशतभन्दा बढी केन्द्रीय सदस्य रहेको भन्दै यो समूहले पटकपटक आयोगलाई आधिकारिकता आफूहरुलाई दिन आग्रह गरे पनि आयोगले अहिलेसम्म एउटा नेकपाभन्दा अरुलाई नचिन्ने बताउँदै आएको छ ।
यसले सबैभन्दा आक्रोशित प्रचण्ड समूहलाई नै बनाएको छ ।
६२ प्रतिशतभन्दा बढी केन्द्रीय सदस्यहरुले दाबी गर्दा पनि आफूहरुको कुरा नसुनेको भन्दै यो समूहका अध्यक्ष प्रचण्डले २८ माघमा भएको सभाबाट आयोगलाई खुट्टा नकमाउन चुनौती दिएका थिए ।
जालझेल र प्रभावमा नफस्न भन्दै उनले आयोगलाई कानून, विधान र नेकपाको बदलिंदो परिस्थिति अनुसार निर्णय गर्न आयोगलाई भनेका थिए ।
तर, आयोगले अहिलेसम्म कसलाई आधिकारिकता दिने भन्ने निर्णय गरिसकेको छैन ।
यसैबीच आयोगलाई थप दबाब बढाउन प्रचण्ड समूहले केन्द्रीय सदस्यको नागरिकता र परिचयपत्रसहित निर्वाचन आयोग जाने तयारी गरेको छ ।
यसका लागि उसले नागरिकताको प्रमाणपत्र र पार्टीले दिएको परिचयपत्रसहित केन्द्रीय सदस्यहरुलाई पेरिसडाँडा बोलाएको हो ।
बिहीबार नै सो समूहले केन्द्रीय सदस्यहरुलाई यसरी नागरिकता र परिचयपत्र लिएर आउन सूचना पठाएको थियो ।
आफ्नो पक्षका सबैले बुझाएपछि आयोगमा नागरिकता र परिचयपत्र बुझाउने तयारीमा प्रचण्ड–नेपाल समूह छ ।







