(घुमफिर)वनभोज : पानीटारमा एक दिन

किरण पौड्याल
फागुन, ८ काठमाडौं । २३ गते बेलुका म इलाम बजारबाट फर्किने क्रममा थिए । ठ्याक्कै नारायणस्थानको रमेश दाई (रमेश पराजुली, इलाम एफएम स्टेशन म्यानेजर) घरमा आउँदा उहाँ भित्र देखे । पैदलै आइरहेको मलाइ देखेर गर्दै गरेको काम छाडेर बाहिर निस्कनु भयो, दाइ ।

सञ्चो, आराम, खबरखाबरको विषयसँगै दाइले भोलिपल्ट (२४ गते) पानीटार जान प्रस्ताब राख्नुभयो । प्रस्ताबपछि मैले नै किन भन्ने प्रश्न तेस्र्याए । दाइले घुमघाम भन्दै विषय बन्द गर्नुभयो । केहीदिन अघि देखि नै वनभोज जाने हल्ला थियो । त्यही होला ठानेर दाइलाई सकभर जाने, नभए फोन गरेर जान्न भन्ने निर्णय गर्दै विदा भए ।

पिकनिक नै हो भन्ने लख काटे, केही खुसी लाग्यो पनि । हो वा होइन बुझ्न नजिकका मित्रहरूसँग फोनफान गरे,हो रहेछ । करिब चार बर्षपछि वनभोज जाने रहरमा खुसी थियो मन । गाउँघरमा बर्षमा दुई पटक सम्म वनभोज गएर रमाइलो गर्ने बानी सदरमुकाम पसेपछि दर्लभ सङ्ख्यामा बाहेक गइएन । सात बर्षको सदरमुकाम बसाइमा मरीतरी दुई पटक वनभोज गइएछ । विहान रमेश दाइले भने झैँ ९ बजे नै ठिक परियो । तर, वनभोज जाने, नजाने एकीन भएन ।

फोन सम्पर्क नहुँदा मन दोधारमा थियो । १० बजेतिर दाइ आफैले फोन गरेपनि कुरा पक्कापक्की भयो । लगाएका लुगामा जुत्ता थपेर लागियो धोवीधारातिर । मन त्यसै फुरुङ्ग थियो । पुराना आफ्ना सुसेधन्दा थाती राख्दै पानीटार पुगेर रमाइलो पगाल्ने कल्पना साधियो । ठिक ११ बजेतिर गाडी आयो । सुरुमा केही खिन्नता फिल भयो । मन सञ्च भएपनि शरीर खासै ठिक भएन । पुवाखोला नतरुञ्जेल विसञ्चै रहियो । पुवातरेपछि क्यासेटमा बजेको गीतमा विमल भाइ (विमल खरेल)को भाका र अरुको है है ले पानीटार कहिले पुगियो पत्तो भएन ।

खुवाइपछिको नचाइ
पिकनिक हो, खानु त परिगयो । बजारबाटै लगेका खाद्यन्न खपत गरियो । दुनुनु आगोमा सकाउँदै, गफ चुट्दै । पानी ल्याउनमा सुशीलजी( सुशील लिम्बू), विमल भाइ र पकाउन पस्किनमा वविता मैनाली, शान्ति गुरुङ अग्रसर बनेपछि आगो ताप्नु बाहेक अरू काम परेन । खाने क्रममा अनेक भए ।

कोही बत्तलको विर्कोमा मादक पदार्थ चाख्ने देखि जुस खाएपछि लरबराउनेसम्म देखिए । असीमित हाँसोपछि स्थगित भयो, खाने काम । डाँडाबाट झरियो तल्लो भेग । अरू पिकनिक टोलीसँग मिसियो र लाइयो गीत । गीतपछि कम्मर मर्काउनेको भीड । जाग्यो टोली, दाइहरू (रमेश दाइ, मिलन मुखिया, दीपक राई)ले नै थालेपछि हामीले पनि ननाच्ने भनेर पार पाएनौ । पहिलो चरणको खाने काम समाप्त भएपछि रमेश दाइ र मेरो चिया खाने योजना पनि नचाइले विस्र्याएछ । विमल भाइको कम्मर मर्काइमा कसैले टक्कर दिएन । आक्रमण शैलीमा नृत्यमा देखिनु भएका पशुपति दाइ( पशुपति भट्टराई)को नृत्य पनि लामो टिकेन । मिलन दाइलाई नचाइले नै गर्मीले ज्याकेट फुकाल्न बाध्य बनायो । केही सुरसार गरेर नाच्न सामेल वविता,शान्ति र सरिता(सरिता राई)को पनि नृत्य तारिफ योग्य नै मान्नु पर्छ ।तर, विमल भाइकोसँग तुलना गर्न मिलेन । विमललाइ टक्कर दिँदै गर्नुभएका दीपक दाइको नृत्य पनि सामान्य थिएन । नृत्यपछि शरीर थाक्यो, पेट भोकायो । अनि सम्झिए, अघि रहेका खाद्यान्न । लागियो उकालो । कुरा नृत्यकै थिए । आफ्नो भन्दापनि अर्को टिमको । प्रतिष्पर्धात्मक थिएन तर जीतको भान भइरहेको थियो ।

भेराइटिज भेराइटिजका खानेकुरामा खानेनखानेमा द्वन्द्व
धेरै मान्छे भएपछि धेरै कुरा । अनि धेरै स्वाद । कोही मांसहारी । कोही साकाहारी । कोही जुस खाने, मासु नखाने । कोही मासु खाने ड्रिङ्स नलिने । कोही सबै लिने । कोही लिनै डराउने । कोही करकापमा खुवाउने । कोही खाइदिए जस्तो गर्ने । खुवाइ रमाइलो । सबैका मुखमा हाँसो अजिवको देखिन्थ्यो । करिब आधा घण्टाको खान्तेपिन्ते रस्साकसी पछि घुम्न हिँड्ने बेला आयो ।

कन्याम विस्याउँने पानीटार, कता जाने,कता नजाने । रमेश दाइको कमाण्डमा टोली निस्कियो । फोकस झण्डे डाँडा (झण्डा भएको डाँडा ) । केही समयअघि फोटो खिच्न भनेर मिलन दाइले दिएको क्यामरा पाएपछि मलाइ अरू चाहिएन । फोकस मिलाउन, एङ्गल लिन र राम्रो ठाउँ छनौट गर्नको धौधौ ।

अरूको खिच्दाखिच्दै अक्कल झुल्लल बाहेक आफ्नो आएन । तर, दुःखी भइएन । सुन्दर चियाबारीमा सामूहिक हिड्न पाउनुको मजै बेग्लै थियो । टोली जति अघि बढ्यो, त्यति घट्दै गयो । पहिलो चोटी पानीटारलाई मोहनी लगायो । कोही फोटोमा हराए, कोही टिकटकमा । हामीले भने आफ्नै शैली अपनायौ । राम्रो भ्यु हेर्न फोटो हानिहाल्ने । फोटो राम्रो आयो आएन, मिलन दाइसँग सोध्ने,फेरि हानिहाल्ने । जब पानीटारको मेन क्षेत्र झण्डे डाँडा पुगियो, त्यहाँ बेग्लै रमाइलो ।

बेला घड्कियो, ५ बज्दै गर्दा पनि कसैलाई हतार थिएन । मन उल्लास, मुखमा खुसी, हातमा मोबाइल । नचिनेका पर्यटकलाई पनि आफ्नो मोवाइल थमाएर फोटो खिचिन आग्रह गर्दैै थिए कोही । डाँडामा पुगेपछि हामीसँगै गएकी शान्ति चाहिँ टिकटिकमै व्यस्त रहिन्न् । हामी भने फोटोमै मस्त । कहिले सिङ्गल, कहिले डबल, कहिले सामूहिक, पोजपोजका फोटो । फोटोमा मात्र नभइृ सेल्फी, अनि भिडियो । स्वर्गरुपी पानीटारमा कसैको मन अगाएन । पिकनिकले पेट भरियो । मन भरिएन । झण्डे डाँडापछि अर्को डाडाँ । फेरि सुरु भयो फोटो श्रृंखला ।“दाइ एउटा तपाईंपनि खिचिदिन्छु न है” भनेर मख्ख पार्ने अनि खिचिदिए बापत् दर्जनबढी खिच्न लाउनेको पनि कमी थिएन त्यहाँ ।

हरियाली पानीटारमा,अविष्मरणीय पिकनिक

पिकनिक भन्ने वित्तिकै मलाई पाँचथरे कवि उपेन्द्र सुब्बाको याद आउँछ । अनि उनको कविताको । रौसेबुढाले घुमाएर पिकनिकलाई कवितामा मिसाएछन् छन् ।त्यो हो ‘भेडेटारमा पिकनिक’ । बुढापनि पानीटार आएभने अर्को कविता फुराउलान् झै लाग्यो ।‘पानीटारमा पिकनिक’ । म आफू चाहिँ पिकनिक भन्ने शब्द खास रुचाउँदिन । वनभोज भन्ने शब्दमा मिठास खोज्छु, भेट्छु । चलनचल्तीको अंग्रेजी शब्द प्रयोग गर्दिने भएको मात्र हो । तर, सबै कहाँ मिल्दो रहेछ र । बाटोमा जाँदै गरेको एउटा अंग्रेजी शब्द ओकलेको, छेउमै बसेको विमल भाइले उल्ल्याएर हैरान । जिब्रो छड्किएछ । केटोले अरू नै बुझ्यो ।

सानै देखि वनभोज भनिरहेको बानी बनभोजमा गाउँघरका डाँडा पाखामा खाएको याद आउँछ । छोराहरूको मन बुझाउन आमाले घरकै घुरेनमा भात पकाएर खुवाएको दिनको याद दिन्छ । बाल्यकालमा सानो दिमागमा आमाले माटाको डल्लामाथि पकाएर दिएको भात नै वनभोज बन्थ्यो । सानो उमेर, जन्मघरको बसाइ । त्यही शब्द दिमाग पसेको छ ।
पिकनिकमा उपेन्द्र सुब्बा आएझैँ वनभोजमा चाहिँ आफ्नै आमाको याद आउँछ । पानीटारले त्यही समयको याद दिलायो । कोही पुराना, कोही नयाँ दौतरी र आफूजस्तै दाजुहरू भेट्दा रमाइलो भयो । हरियो कार्पेटजस्तो देखिने पानीटार हेर्दैमा आधा अघाइन्छ । डाँडाडाँडा पुगेर हेर्नैमा मन मान्छ । त्यसमा पनि त्यही ठाउँको वनभोज । कुन शब्दले बर्णन गरौ ? । वनभोजमा अडिएको मन
मनैदेखि नभन्ने कुरा भन्दा चाहिँ आधुनिकताका नामका खाइने पाटीमा मेरो मनै जाँदैन । आफू सीमित खानेकुरा खाने भएर पनि पाटीपट्टि रस विझेन । विगतमा पाटी गर्ने भन्दैमा नगरौ पनि भने । त्यसको रकम अरुतिरै प्रयोग गरौ पनि भन्न भ्याए । अहिले पनि यत्रपत्र, रातसाँझ ती कुरा निस्किन्छन् । पार्टी हुन नदेकोमा कति असन्तुष्टि पनि सुनिन्छ । पाटीको विरोधी त होइन तर करैले जाइन्छ । साथीभाइ भेट हुन्छ । नजाँदा एक्लै परिने हो कि भन्ने लाग्छ । सानै उमेरदेखि वनभोजमा अडिएको मन भएर होला पाटीतिर चासो नबढेको । वनभोज भनेको त संस्कृति हो नि त तर । पूर्वीय दर्शनअनुसार बर्षमा एक पटक वनभोज जानु अनिवार्य झै छ । भनेको सुनेको मात्र हो, हो÷होइन, पढिएको छैन । अरु त अरु,केही राजनीतिक पार्टीले पनि वनभोज पछिल्लो समय अनिवार्य गरेका छन् ।

फर्किदाको त्यो क्षण
गएपछि नफर्किएर धर पाइएन । त्यो रमाइलो विर्सिदै गएकै अगाडिमा फर्किनु पर्ने भयो । फोटोले नअगाएका हामीलाई दाइहरूले जानुपर्छ भन्दा पनि सुनिएन छ । गाडीमा आएर हर्न लाउँदा मात्र हामीले चाल पायौ । हत्तपत्त गाडी चडियो । गाडीमा पनि जाँदाको सुरुवाती क्षण जस्तो नरमाइलो थिएन । वनभोज केन्द्रित कुराकानी थिए ।

त्यसमा पनि घोचेर अर्कालाई भनेर रमाइलो गर्नेमै मस्त थिए ,साथीहरु । त्यसमा पनि प्रथम त विमल भाइ । साँच्चीकै भन्ने हो भने रमाइलो उसैमा केन्द्रित थियो । गफ गर्दै, गीत सुन्दै आइपुग्यो, गाग्रे भञ्ज्याङ । रमेश दाइ र मेरो चिया खाने तृष्णा पूरा हुने छनक देखियो । सोधे ‘ब्लाक टी’ मगाए मैले । अरूले त के के हो के के हो । कोही कफी, कोही दूध चिया ।

अन्तिममा कफीमा सहमत भएछ । अरू गन्थनमा लागे, म चाहिँ फोटो कैदमा । डिएसर हातैमा, घुम्न पाकै थियो । यत्रतत्र हिँड्यो, खिचि हाल्यो । कफी खाएपछि फेरि लाग्यो बाटो । नयाँ जोससहित अँध्यारिएको दिनमा रमाइलो गर्नुथियो । पछाडि बसको हामी (म, विमल भाइ, दीपक दाइ, सुमन तामाङमध्ये एक नम्बर सकसके निस्कियो विमल । त्यतिकैमा सुरु भयो गायकी । क्यासेटमा बजेकै गीतमा लवज मिलाउनु पर्ने, वडा मज्जा आयो । झण्डै आधा बाटो आएपछि शुरु भयो भिडियो रेकर्ड र लोक दोहोरी । भिडियोमा अरू व्यस्त, दोहोरीमा सरिता र म । जाने न जानेका शब्दमा लय मिसाएर फर्काउने कोशिस गर्यो, रमाइलाका लागि । कति खेर विहान गाडी चढेको ठाउँ आएछ, पत्तै भएन । ठाउँ छोडियो, समय गयो, तर अविष्मरणीय वन्यो, ‘पानीटार पिकनिक’ ।