१६ जेठ, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसद विजय सुब्बाले भारत र चीनको सीमामा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरु ठेलमाठेल गर्ने गरेको सुनाउँदै नेपालले पनि भारतीय सुरक्षाकर्मीसँग ठेलमाठेल गर्नुपर्ने बताए ।
‘सीमा समस्यालाई अन्र्तराष्ट्रियकरण गर्न हामी डराउने परेछौं । भारत र चीनको सीमामा ठेलमाठेल गरेको आइरहन्छ । हाम्रोले पनि ठेलमाठेल गर्दा हुन्छ । ठेलाठेल गरेपछि अन्र्तराष्ट्रियकरण पनि हुन्छ’ सांसद सुब्बाले भनेका छन् ।
शुक्रबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल–भारत सीमा समस्या र विपत्त व्यवस्थापनबारे छलफल गरेको थियो । उक्त छलफलमा सांसद सुब्बाले यस्तो बताएका हुन् ।
केही समय अघि संसद सुब्बाको केही नलागे भारतसँग युद्ध गर्नुपर्ने समेत बताएका थिए ।
भारतले नेपालसँगको सीमा विवाद समाधानका लागि वार्ता गर्न अनिच्छा प्रकट गरेको टिप्पणी भइरहेका बेला सत्तारुढ दल नेकपामा सांसद विजय सुब्बाले फेसबुकमा लामो स्ट्याटस लेख्दै केही नलागे भारतसँग युद्ध गर्नुपर्ने बताएका थिए ।
भारतसँगको सीमा विवादका सन्दर्भमा सबैभन्दा पहिले कुटनैतिक समाधान खोज्ने, कुटनीतिक माध्यमबाट समाधान ननिस्किए दोस्रोमा सीमा विवादलाई अन्तराष्ट्रियकरण गर्नुपर्ने उनको भनाई छ ।
यि दुबै प्रयास असफल भए तेस्रो विकल्प भनेको भारतसँग युद्ध नै रहेको सांसद सुब्बा बताउँछन् ।
‘हाम्रा पुर्खाले ठूलो देश बेलायतसँग लडेकै हैनन् ? थाहा छैन ? भारतसँग युद्ध नै भयो भने भारतले आफ्ना विरोधी र हेपेका पाकिस्तानी, काश्मिरी आदिलाई मार्न गोर्खाली सेनाको प्रयोग गरे जस्तै नेपालीलाई मार्न पनि गोर्खाली सेना पठाउँदा त नआउलान् नि आफ्नो बाबु आमा, दाजुभाइ दिदी बहिनी मार्नलाई’ सांसद सुब्बाले लेखेका छन् ।
कतिपयले भारतसँग युद्ध चाहिँ नगर्ने, भारत ठूलो शक्तिशाली देश हो भन्ने गरेको भन्दै उनले प्रश्न गरेका छन, ‘अनि के हेपिइरहनुपर्छ भनेको हो ?’
आफ्नो भनाईलाई उग्र भनिएला भन्दै उनले उदाहरण दिएका छन्, ‘कोइलाडी तिलाठी, सप्तरीका देवनारायण यादव र कञ्चनपुरका सीमा शहीद गोविन्द गौतमको देशको लागि निडर लडाइँबाट पनि सिकौं । अहिलेको देशभक्तिपूर्ण राष्ट्रिय सहमतिलाई पनि बुझौं र हिम्मत गरौं ।’







