फागुन, २२ काठमाडौं । मेलम्चीको पानी आज सुन्दरीजलमा झारीने भएको छ । शनिबार दिनको ४ बजेभित्र मेलम्चीको पानी सुन्दरीजलमा झर्ने मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले जानकारी दिएका छन् ।
पानी झरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्दरीजलमा अवलोकन गर्ने कार्यक्रम रहेको छ । आयोजनाका अनुसार शनिबार सुन्दरीजल झर्ने पानी सो रातभर वाग्मती नदीमा बगाइनेछ । आयोजनाले वाग्मती आसपासका बासिन्दालाई पानीको सतह बढ्न सक्ने भन्दै यसअघि नै सचेत गराइसकेको छ ।
गएको फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट २६ किलोमिटर लामो सुरुङमा परीक्षणका लागि पानी हालिएको थियो । मुहानबाट पानी हालेपछि अन्तिम बिन्दुको सुरुङभित्रको ढोका बन्द गरी आउन सक्ने समस्याबारेमा सजगता अपनाइएको थियो ।
अहिले परीक्षणका लागि २६० लिटर प्रतिसेकेण्ड पानी सुरुङमा हालिएको छ । परीक्षण सकिएपछि प्रतिदिन १७ करोड लिटर पानी सुरुङमार्गबाट सुन्दरीजल आइपुग्ने खत्रीले बताए । यो सफल परीक्षणपछि अब तीन महिना नकटाइ काठमाडौंमा मेलम्चीको पानी उपलब्ध गराउने सरकारको योजना छ ।







