मेयर शाक्यबाट कोविड खोप केन्द्रको अनुगमन

फागुन,२५ काठमाडौं । काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले कोविड खोप केन्द्रहरुको अनुगमन गरेका छन् । केन्द्रमा आउने जेष्ठ नागरिकका अनुभव सुन्न र केन्द्रको व्यवस्थापन हेर्न जनस्वास्थ्य विभागका अधिकारीसहित उनी अस्पतालहरुमा पुगेका हुन् । 

टेकु अस्पतालमा पुगेका बेला मेयर शाक्यलाई जेष्ठ नागरिकहरुले, ‘तपाईँले खोप लगाउनु भो मेयर साब’ भनेर प्रश्न सोधेका थिए । उत्तरमा उनल भने, ‘मैले त लगाइ सकेँ, तपाईहरु पनि ढुक्क भएर लगाउनोस्’  खोप लगाउन पाएकोमा आफूलाई खुशी लागेको प्रतिक्रिया दिने छत्रपाटी निःशुल्क चिकित्सालयमा आएका जेष्ठ नागरिकले सरकार र महानगरप्रति आभार प्रकट गरे । 

अनुगमनका क्रममा मेयर शाक्यले, जनस्वास्थ्य विभागलाई जेष्ठ नागरिकहरुलाई आराम गर्ने ठाउँ, इच्छाएअनुसार तातो र चिसो पिउने पानीको व्यवस्था मिलाउन निर्देशन पनि दिए । आवश्यकताअनुसार महिला स्वास्थ्य स्वयमसेविका, स्थानीय क्लव र संघ संस्थाका प्रतिनिधिलाई खटाउनोस्, शाक्यको भनाइ थियो ।