चैत, ८ बाग्मती । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाले जिल्लामै पहिलो पशुमैत्री उद्यान निर्माण गर्ने काम अघि बढाएको छ । गाउँपालिकाको वडा नं ३ कालीखोला सामरीमा पशुमैत्री उद्यान निर्माण हुनेछ ।
स्थानीय तह, प्रदेश तथा केन्द्रीय सरकारको सहयोगमा निर्माण गर्ने गरी बहुवर्षीय योजनाअन्तर्गत पशुमैत्री उद्यान निर्माण गर्ने काम अघि बढाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले जानकारी दिए ।
परियोजनाको विस्तृत प्रतिवेदनअनुसार रु सात करोड तीन लाख ७६ हजार कूल लागत लाग्ने प्रारम्भिक अनुमान छ । उद्यान निर्माणका लागि चालु आर्थिक वर्ष २०७७७८ को पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयको स्वीकृत कार्यक्रमअन्तर्गत पशुमैत्री उद्यान स्थापना तथा सञ्चालनका लागि रु १० लाख बजेट विनियोजनसमेत भएको छ ।
पशुमैत्री उद्यान निर्माणको पहिलो चरणअन्तर्गत निर्देशनालयबाट रु १० लाख, गाउँपालिकाबाट रु १० लाख र समुदायबाट रु दुई लाख ७८ हजार बराबरको निर्माणकार्य केही समयमै थालिने बताइएको छ । बजेट विनियोजन भएसँगै उद्यान निर्माणका लागि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुडासैनी र निर्देशनालयका निमित्त निर्देशक रामप्रकाश प्रधानबीच सम्झौतापत्र हस्तान्तरण भएको छ ।
उद्यानमा विभिन्न प्रजातिका गाई, भैँसी, बाख्रालगायतको आकृति, तालिम केन्द्र, रमणीय बगैँचा, नमूना घाँसका प्रजाति, दाना उत्पादन केन्द्र, सहकारी भवन, पराल राख्ने स्थान, पानीट्याङ्की, चमेनागृह, वनभोजस्थल, शौचालय, आरामस्थल, पदमार्गलगायतका संरचना रहने विस्तृत परियोजना प्रतिवेदनमा उल्लेख छ ।







