नेकपा सचिवालय बैठक : अनुमोदन नहुँदासम्म एमसीसीका सबै काम स्थगित गर्ने निर्णय

१७ जेठ, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले संसदबाट अनुमोदन नभएसम्म अमेरिकी सहयोग सम्बन्धी सम्झौता एमसीसीका सबै काम स्थगित गर्ने निर्णय गरेको छ ।

शनिवार बसेको नेकपा सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले एमसीसीबारे प्रधानमन्त्री र अर्थमन्त्रीले संसदमा प्रष्ट पार्ने छ । एमसीसी सम्झौता पारित नभएसम्मका लागि त्यस अन्तर्गतका कुनै पनि काम नहुने अर्थमन्त्रीले प्रष्ट पारेपछि बजेट पास हुने पनि श्रेष्ठको विश्वास छ ।

शनिवारको नेकपा सचिवालय बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री डा. युवराज खतिवडा र स्थायी कमिटी सदस्य भीमबहादुर रावल पनि आमन्त्रित सदस्यको रूपमा सहभागी थिए ।

बजेटमा एमसीसी घुसाइएको भन्दै केही सचिवालय सदस्यहरुले विरोध गरेपछि नेकपाले आकस्मिक रुपमा सचिवालय बैठक बोलाएर छलफल गरेको हो ।

सचिवालय बैठकअघि शुक्रबार साँझ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर पार्टीमा निर्णय नभई एमसीसीलाई बजेटमा घुसाएकोमा आपत्ति जनाएका थिए ।

सरकारले आर्थिक वर्ष २०७७÷०७८ का लागि बिहीबार संसदमा सार्वजनिक गरेको बजेटमा बजेटमा लप्सीफेदी–रातामाटे–हेटौंडा र लप्सीफेदी–रातमाटे–दमौली–बुटवल ४०० केभी अन्तरदेशीय प्रशारण निर्माण अघि बढाउने उल्लेख छ ।

त्यसका लागि अन्तरदेशीय प्रशारण निर्माणका लागि ३६ अर्ब २ करोड बजेट विनियोजन गरिएको छ ।

बजेटमा एमसीसी नभनिए पनि यति धेरै रकम विनियोजन गरिएकाले एमसीसीको अनुदान रकम स्वीकार गरेर योजना अघि बढाउने दाउमा सरकार रहेको भनेर नेकपाका कतिपय नेताहरुले विरोध गर्दै आएका छन् ।