चैत, २० काठमाडौं । नेकपा (एमाले)को झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक बस्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षका नेताहरुलाई धमाधम निलम्बन गर्न थालेपछि खनाल र नेपालले आज ११ बजेका लागि स्थायी कमिटी सदस्यहरुको बैठक बोलाएको छ ।
आफ्ना पक्षका नेताहरुमाथि एकपछि अर्को गर्दै ओलीले कारवाही गर्न थालेपछि आगामी रणनीति बनाउन र छलफल गर्न स्थायी कमिटी बैठक बोलाइएको नेपाल पक्षको भनाइ छ ।
खनाल–नेपाल पक्ष देशव्यापी समानान्तर संरचनामा जाने तयारीमा छ। यो समूहले अखिल नेपाल महिला संघ ९अनेमसंघ०, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, युवा संघ नेपाललगायतमा समानान्तर कमिटी बनाइ सकेका छन्।
बिहीवार कास्कीको जिल्ला भेलालाई सम्बोधन गर्दै नेता नेपालले अब केन्द्रमा पनि समानान्तर संरचना बनाउने उद्घोष गरेका छन्। शुक्रवारको बैठक बसेर थप रणनीति र अभिया शुरु गर्ने खनाल–नेपाल समूहको योजना छ। बैठक ११ बस्दै छ ।
पार्टी अध्यक्ष ओलीले माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई ६ महिनाका पार्टी सदस्यताबाटै निलम्बन गरेको छ। उनीहरुले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष केपी शर्मा ओलीले निलम्बन गरेका हुन्।
एमालेको केन्द्रीय कमिटीको चैत ७ गतेको बैठकको निर्णयअनुसार महासचिव ईश्वर पोखरेलले नेपाल, रावल, पाण्डे र भुसाललाई स्पष्टीकरण सोधेका थिए।







