चीनले छाड्यो पाँच भारतीय युवक

भदौ २८, काठमाडौं ।
चीनले भारतका पाँच जना युवालाई छाडेको जनाएको छ । गएको आइतबार उनीहरू भारत–चीन सीमाबाट हराएका थिए ।

भारतको अरुणाचल प्रदेशका बसिन्दा ती युवकलाई सिमानाबाट चिनियाँ सीमा सुरक्षामा खटिएका जवानले पक्राउ गरेका थिए । शनिबार उनीहरूलाई भारतीय सेनाको जिम्मा लगाइएको हो ।

भारतका केन्द्रीय मन्त्री किरेन रिजिजुले यस कुराको पुष्टि गरेका छन् । उनले ट्वीटरमार्फत फोटो सहित यो जानकारी दिएका हुन् ।

उनीहरू पक्राउ परेदेखि दुई देशबीच फेरि तनावको स्थिति बनेको थियो । यसैबीच भारतले ती युवकलाई छाड्न गरेको आग्रहको जवाफ दिँदै चीनले भारतले आफ्नो दाबी गर्दै आएको अरुणाचल प्रदेश चीनको स्वशासित क्षेत्र तिब्बतको हिस्सा भएको प्रतिक्रिया दिएको थियो ।

रुसमा दुई देशका विदेशमन्त्रीबीच भएको पाँचबुँदे सहमतिपछि उनीहरू छुटेका हुन् । उनीहरू पाँचै जना स्वस्थ रहेको बताइए पनि केही दिन क्वारेन्टाइनमा राखिने भारतीय पक्षले जनाएको छ ।