रेशम चौधरीको मुद्धा यथास्थितिमा फिर्ता हुँदैन: महान्यायाधीवक्ता बडाल

वैशाख, १६ काठमाडौं । महान्यायाधीवक्ता रमेश बडालले रेशम चौधरीको मुद्धा यथास्थितिमा फिर्ता हुन नसक्ने बताएका छन् ।

सरकारले जनता समाजवादी पार्टी (जसपा)का १२० जना नेता/कार्यकर्तामाथि लागेका मुद्धा फिर्ता लिएको छ । जसपाले माग गर्दै आए बमोजिम रेशम चौधरीको मुद्धा भने फिर्ता भएको छैन् ।

किन फिर्ता हुन सकेन रेशम चौधरीको मुद्धा, तपाईंले सरकारलाई दिनु भएको राय के थियो ? भन्ने प्रश्नमा महान्यायाधीवक्ता रमेश बडालले भने, ‘रेशम चौधरीको मुद्धा यथास्थितिमा फिर्ता हुन सक्दैन । सरकारलाई मैले दिने राय यहि हो र छ ।’

थरुहट आन्दोलन चलिरहेका बेला ७ भदौ २०७२ मा कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ सुरक्षाकर्मी र एक बालकको ज्यान गएको थियो ।

उक्त घटनाका मुख्य योजनाकार रेशम चौधरी भएको ठहर गर्दै उनीसहित ११ जनालाई कैलाली जिल्ला अदालतले २२ फागुन २०७५ मा जन्मकैदको सजाय सुनाएको थियो ।

३ पुस २०७७ मा उच्च अदालत, दिपायलले रेशमको जन्मकैदलाई सदर ग¥यो । यसविरुद्ध परेको पुनरावेदन सर्वोच्च अदालतमा विचाराधीन छ ।

सर्वोच्च अदालतमा विचाराधीन मुद्धा फिर्ता हुन नसक्ने महान्यायाधीवक्ता बडालले बताए ।

मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ११६ को (८) मा सर्वोच्चमा विचाराधीन मुद्धा फिर्ता लिन नसकिने उल्लेख छ । ‘पुनरावेदन, साधक जाँच वा पुनरावलोकनको रोहमा वा मुद्धा दोहो¥याउने अवस्थामा विचाराधीन रहेको मुद्धा फिर्ता लिन सकिने छैन।’

रेशम चौधरीको मुद्धा न्यायीक प्रक्रियामा रहेकाले सोही प्रक्रियाबाट टुङ्गिनेमा आफुहरु विश्वस्त रहेको जसपाका नेता सुरेन्द्र झाले बताए ।

न्यायीक प्रक्रियामा छ । हामी न्यायको खोजीमा छौं । न्याय पाउँछौं भन्ने छ । जनताबाट निर्वाचित भएर सांसद भइसकेको मान्छेले न्याय पाउँछन भन्ने छ ।

‘टिकापुरको विषय अहिले उठाएकै छैन् । फिर्ता लिन मिल्नेलाई फिर्ता लिन भनेका हौं । रेशम चौधरीको मुद्धा अहिले हेरेकै छैन् । हामीले भनेको सरकारले रेशम चौधरीको मुद्धा अगाडि बढाउन, प्रमाण जुटाइदियोस् भन्ने हो’ झाले थपे, ‘असली दोषीलाई कठघरामा ल्याउनुपर्यो । अदालतले जनप्रिय जनताको नेतालाई हेरेर हाम्रो पक्षमा फैसला सुनाउँछ भन्नेमा विश्वासमा छौं ।’

अपेक्षा विपरित निर्णय आएको खण्डमा आमआफीमा जान सकिने र सरकारले त्यसमा सहयोग गरिदिने पनि आफुहरुको विश्वास रहेको उनले सुनाए ।