वैशाख, २१ काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदा नोवेल कोरोना भाइरस (कोभिड–१९) संक्रमित सांसदहरुले पनि भाग लिन पाउने गरी व्यवस्था मिलाइने भएको छ ।
यसका लागि विशेष व्यवस्था गर्नेबारे छलफल चलिरहेको संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए । ‘विषेश व्यवस्था गरेर भए पनि प्रधानमन्त्रीले विश्वासको मत लिँदा सांसदले मत हाल्ने व्यवस्था मिलाउनुपर्ने हुन्छ । त्यसका लागि छलफल चलिरहेको छ’ पाण्डेले भने ।
यहि बैशाख २७ गते दिउँसो १ बजेलाई प्रतिनिधिसभाको बैठक बोलाइएको छ । उक्त बैठकमा प्रधानमन्त्री ओलीले विश्वास मत लिनेछन् । यसैका लागि सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरेकी हुन् ।
संसद सचिवालयका अनुसार हाल ६ जना सांसद कोरोना संक्रमित भएर उपचाररत छन् ।
प्रतिनिधिसभाको बैठक बस्नु अघि सबै सांसदको कोरोना परीक्षण गरिनेछ । त्यसबेला पनि कोरोना संक्रमित सांसदहरु थपिन सक्छन् ।
कोरोना संक्रमितले मतदानमा भाग लिन पाउने गरी व्यवस्था मिलाउने र अन्य स्वास्थ्य मापदण्डका विषयमा सोमबार सभामुख अग्निप्रसाद सापकोटा र संसद सचिवालयले चिकित्सकहरुसंग सुझाव लिएको छ ।
सोमबार संसद भवन नयाँ वानेश्वारमा सभामुख सापकोटा र संसद सचिवालयले स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, स्वास्थ्य सेवा विभागका प्रतिनिधि र चिकित्सकहरुसंग छलफल गरेका हुन् ।
छलफलमा सहभागि चिकित्सकहरुले संसदमा उपस्थित हुनेलाई कोरोना परीक्षण अनिवार्य गर्न सुझाव दिएको संसद सचिवालयका प्रवक्ता पाण्डेले जानकारी दिए ।
चिकित्सकहरुको सल्लाह अनुसार संसद बैठक सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड अपनाइने पनि उनले बताए ।
चिकित्सकहरुले दिएको सुझाव सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठकमा राख्ने र दलहरुको सुझाव सहित अगाडि बढाइने सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए ।







