वैशाख, २१ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ७ अध्यादेश जारी गरेकी छन् ।
मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ सहितका ७ वटा अध्यादेश जारी गरेकी छन् ।
यसअघि सरकारले गत मंसिरमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानव अधिकार आयोगसहित विभिन्न संवैधानिक आयोगमा पदाधिकारी नियुक्त गरेको थियो ।
संवैधानिक परिषद् अध्यादेश जारी भएको यो दोस्रो पटक हो ।
नेकपा रहँदै प्रधानमन्त्री केपी शर्मा ओलीले ३० मंसिरमा त्यस सम्बन्धी अध्यादेश ल्याएर विभिन्न संवैधानिक निकायमा नियुक्ति गरेपछि विवाद बढेको थियो ।
पुनःस्थापित भएको प्रतिनिधिसभाको पहिलो बैठकमा उक्त अध्यादेश पेस गर्न खोज्दा नेपाली कांग्रेस, प्रचण्ड–माधव पक्षले त्यसको विरोध गर्दै सदन अवरुद्ध र बहिष्कार गरेको थियो ।
विपक्षीकै विरोधकाबीच संसदमा पेस भएको सो अध्यादेशउपर निर्णय भने भएको थिएन ।
मंगलबार जारी अध्यादेशमा यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८, औषधी (तेस्रो संशोधन) अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा ती अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयद्वारा विज्ञप्तिमार्फत जानकारी दिएको छ ।







