जेठ २ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा लिन सक्रियताका साथ लाग्नुपर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार स्वास्थ्य क्षेत्रसँग सम्बन्धित जानकारसँगको छलफलमा उनले कोरानाको सामना गर्न सरकार सक्षम रहेको बताए ।
“हामी कोरोना सामना गर्न सक्षम छौँ, सरकारले थुप्रै विषय कार्यान्वयन गरेको छ, नियन्त्रणका उपाय गर्न तयार र उत्सुक छ, आगामी दिनमा पनि निरन्तर हुन्छ”, उनले भने, “सरकारका प्रयासमा स्वास्थ्य क्षेत्र, निजी व्यावसायिक क्षेत्र, गैरसरकारी संस्था, गैरआवासीय नेपाली सबैका आआफ्ना ठाउँबाट संगठित प्रयासको खाँचो छ ।”
उनले सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालनामा सबैले ध्यान दिनुपर्ने बताए । “जनतालाई फेरि पनि सजग गराउन आवश्यक छ । कोरोनाका लागि कुनै पनि तोकिएको औषधि छैन तर पनि जनतामा यो खाएर निको हुन्छ कि भन्ने विश्वास छ, रेम्डिसिभिर नै कोरोनाको औषधि होइन, यसलाई जनतामा बुझाउनुपर्छ”, प्रधानमन्त्री ओलीले भने ।
अक्सिजनको आपूर्ति तथा उपकरणको उपलब्धतामा सबैको जोड हुनुपर्ने बताउँदै उहाँले अक्सिजन, औषधिलगायत अत्यावश्यक सामग्रीको जोहो गर्न सरकार गम्भीर भएर लाग्ने दृढता व्यक्त गरे । कोरोना नियन्त्रणका लागि सञ्चालनमा ल्याइएका हटलाइन नम्बरमा फोन नउठ्ने गुनासा बाहिर आएकाले समस्या समाधान तत्काल गर्न आवश्यक जनशक्तिको व्यवस्था गर्न उनले निर्देशन दिए ।
“त्यहाँ पालो लगाएर मान्छे राख्नुस्, देशभरिका अस्पतालसँग, सुरक्षा निकायका प्रमुखसँग समन्वय हुनुपर्छ, आएको गुनासाको उचित सम्बोधन हुनुपर्छ, धेरै लाइन चालू गर्नुपर्छ”, उनले भने ।
संक्रमित होम आइसोलेशनमा बस्दा समुदायमा संक्रमण फैलिएको हुन सक्ने तर्फ सरकार सचेत रहेको जनाउँदै उहाँले होम आइसोलेशनमा बसेका संक्रमितले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेमा जोड दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले करीब ९२ प्रतिशत संक्रमित होम आइसोलेशनमा छन् ।
कोरोना संक्रमण बढिरहेका बेला जनतालाई अत्यास लाग्ने अभिव्यक्ति कोही कसैले पनि दिन नहुनेमा जोड दिँदै उहाँले नागरिकको उपचार सरकारले गर्ने बताए । “हाम्रो स्वास्थ्य प्रणालीमा केही समस्या देखिएका होलान् तर ‘कोल्याप्स’ भएको छैन’, प्रधानमन्त्रीले भन्नुभयो, “समस्या भए समस्या छन् पो भन्नुप¥यो, कोल्याप्स भयो त भन्नुभएन नि ।”
कोरोना नियन्त्रण गर्न सरकारले केही गरेर भनेर भन्नु मूर्खता भएको टिप्पणी गर्दै उहाँले एउटा पनि कोरोना परीक्षण गर्ने प्रयोगशाला नभएको मुलुकमा अहिले ८० भन्दा बढी प्रयोगशाला स्थापना भएको बताउनुभयो । “यसबीचमा नेपालको स्वास्थ्य क्षेत्रमा निकै सुधार भएको छ”, उनले भन्नुभयो, “महामारी पहिल्यै थाहा हुने कुरा भएन, अप्रत्याशित महामारीको सामना गर्नुपर्दा केही समस्या हुन सक्छ ।”
छलफलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री, सुरक्षा निकायका प्रमुख, विशेषज्ञ चिकित्सक, निजी क्षेत्रका प्रतिनिधिलगायतको उपस्थिति थियो ।







