जेठ, १३ काठमाडौं । पाँचथर समाज काठमाडौं नेपालले पाँचथर जिल्लामा प्रत्येका पालिकाहरुमा अक्सिजन र कन्सर्नट्रेटरसकितका समाग्री उपलब्ध गराउन तयारी थालेको छ । कोरोना संक्रमण रोकथाम तथा संक्रमण दर घटाउन सहयोग अभियानबाट उक्त तयारी थालेको हो ।
समाजले प्रत्येक पालिकालाई अक्सिजन कन्सर्नट्रेटर, सबै स्वास्थ्य संस्थाहरु र कोभिड डेडिकेटेड अस्पताललाई पल्स अक्सिमिटर, जिल्ला अस्पताल फिदिम र चिकित्सक भएका रवी र गोपेटार लगायतका स्वास्थ्य संस्थाहरुलाई समाग्री उपलब्ध गराउन थालेको हो ।
समाजले अक्सिजन सिलिन्डर, अक्सिजन कन्सर्नट्रेटर, स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई पीपीई सेट, मास्क, ग्लोब लगायतका स्वास्थ्य सामग्री, अस्पतालहरुलाई बेडलगायतका सामग्री उपलब्ध गराउने भएको हो ।
यसैगरी समाजले काठमाडौँ उपत्यकामा रहेका पाँचथरका विपन्न व्यक्ति वा परिवारलाई पनि नगद सहयोग उपलब्ध गराउने भएको छ । जसअन्तर्गत संक्रमित भएर भएर घरमै आइसोलेसनमा बसेका, अन्य विरामीको उपचारका क्रममा काठमाडौं आइ अलपत्र परेका, ज्याला मजदुरी गर्ने र पेशा, व्यवसाय लकडाउनका कारण बन्द भएर समस्यामा परेकालाई नगद ५ हजार उपलब्ध गराउने भएको छ ।
यस्तै कोभिड संक्रमण भइ अक्सिजनको सहायताले उपचार गराइरहेका व्यक्ति वा परिवारलाई १० हजार सम्म सहयोग रकम उपलब्ध गराउने समाजले बताएको छ । यस्तै कोभिड संक्रमण भइ अस्पतालमा आइसीयुमा उपचार गराइरहेकालाई २० हजारसम्म र कोभिडका कारण मृत्यु भएका विपन्न परिवारलाई २५ हजारसम्म नगद सहयोग उपलब्ध गराउने पनि समाजले जनाएको छ ।
यसकालागि कार्यविधि नै बनाएर सहयोग अभियान सुरु गरेको समाजका महासचिव लक्ष्मीराज तावा लिम्बुले बताए । संस्थाको आम्दानी र सहयोगी मनहरुको साथ र सहयोगले यो कार्य सम्पन्न गर्ने लक्ष्य लिएको उनले बताए । समग्र पाँचथरको महामारी प्रतिकार्य अभियानमा सहभागी भइ यथासक्य सहयोग गर्न पनि तावाले सबै शुभचिन्तकलाई आग्रह गरेका छन् ।







