२९ भदौ, काठमाडौं । आज मन्त्रीपरिषद्को नियमित बैठक बस्दै छ । बेलुकी ५ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बैठक बस्ने स्रोतले जनाएको छ ।
आजको बैठकमा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त तोक्ने लगायतका एजेन्डा रहेको बुझिएको छ ।
त्यस्तै बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने विषयमा समेत छलफल हुने बुझिएको छ ।
के कुलमानको होला त प्राधिकरणमा रि–इन्ट्री
नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक कुलमान घिसिङ हिजै ४ वर्षे कार्यकाल सकिएको छ ।
कार्यकाल समाप्त भएसँगै प्राधिकरणको प्रमुखमा सरकारले कसलाई नियुक्ति गर्छ भन्ने औपचारीक टुङ्गो भने गरेको छैन । यद्यपि सरकारले कुलमानलाई नै पुन नियुक्ति दिने सम्भावना पनि जिवितै रहेको स्रोतले बताएको छ ।
२०५१ सालमा सातौं तहको इन्जिनियरबाट प्राधिकरणमा प्रवेश गरेका घिसिङ २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्त भएका थिए ।
कुलमानलाई नियुक्ति दिने वा नदिने भन्ने बारे मन्त्रीपरिषद्मा प्रस्ताव भने पुगेको छैन ।
उर्जा मन्त्रालय कुलमानलाई नै पुन दोहोर्याउने वा अन्य कसैलाई राख्ने भन्ने विषयमा अहिले सम्म केहि बोलेको छैन । तर मन्त्रालय कार्यकारी निर्देशकका लागि खुला प्रतिस्पर्धा गर्ने मनस्थितिमा रहेको स्रोत बताउछ ।
पहिलो कार्यकालमा १८ घण्टासम्मको लोडसेडिङ हटाएर प्राधिकरणलाई ३४ अर्ब सञ्चित नोक्सानीबाट ५ अर्बको सञ्चित नाफामा लगेको भन्दै घिसिङलाई दोहोर्याउन विभिन्न क्षेत्रबाट सरकारलाई दबाब छ ।
घिसिङ अर्को कार्यकालका लागि काम गर्न इच्छुक देखिएका छन् । जनस्तरमा लोकप्रिय बनेका घिसिङलाई नै दोहोर्याउने या अरुलाई नै राख्ने भन्ने विषयमा सोमबारको मन्त्रीपरिषदको बैठकको निर्णय कुर्नु पर्ने देखिन्छ ।
घिसिङ चिलिमे जलविद्युत कम्पनीबाट प्राधिकरणको केन्द्रीय कार्यालयमा तानिएरका थिए । उनलाई केन्द्रीय कार्यालयमा भुमिका विहिन बनाइएको थियो ।
उनलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन उर्जामन्त्री जनार्दन शर्माले कार्यकारी निर्देशकमा नियुक्ति दिएका थिए ।







