रवीन्द्र काफ्ले
जेठ, २७ पाँचथर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले पाँचथर जिल्ला अस्पताललाई १०० शैय्याको अस्पतालमा स्तरोन्नति गर्न प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईलाई आग्रह गरेका छन ।
मङ्गलबार मुख्यमन्त्री राईलाई पत्र पठाउँदै पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधिसभा सदस्य समेत रहनुभएका मन्त्री नेम्वाङले पाँचथर सहित तेह्रथुम, ताप्लेजुङ र इलामका सर्वसाधारणले सेवा लिने पाँचथर जिल्ला अस्पतालको स्तरोन्नति अत्यावाश्यक रहेकाले स्तरोन्नति गरी बजेटको ब्यवस्था गरिदिन आग्रह गरेको हो । मन्त्री नेम्वाङले भौतिक पूर्वाधार समेत तयार भएकाले पाँचथर अस्पताललाई १०० शैय्यामा स्तरोन्नतिको नीतिगत निर्णय र बजेटको प्रवन्ध आगामी आर्थिक वर्ष २०७८÷०८९ को नीति, कार्यक्रम तथा बजेटमार्फत गर्न समेत मुख्यमन्त्री राईलाई आग्रह गर्नुभएको छ । उक्त पत्र प्राप्त भएपछि मुख्यमन्त्री राईले मन्त्री नेम्वाङको आग्रह र पाँचथर जिल्ला अस्पतालमा सेवाग्राहीको चापका आधारमा उपयुक्त निर्णय लिने वचन दिनुभएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङका स्वकीय सचिव गणेश योङहाङले जानकारी दिए ।
पाँचथर सहित तीन छिमेकी जिल्ला इलाम, तेह्रथुम र ताप्लेजुङका सेवाग्राहीले सेवा लिने गरेको जिल्ला अस्पतालको स्तरोन्नति अत्यावाश्यक रहेको मन्त्री नेम्वाङले वताउँदै आएका छन् । ५० शैय्याका लागि भवन लगायत संरचना समेत निर्माण भइरहेको जिल्ला अस्पतालको शैय्या विस्तारको नीतिगत निर्णय हालसम्म हुन सकेको छैन् । २५ शैय्या सञ्चालित अस्पताल नीतिगत रुपमा १५ शैय्याको मात्रै छ । दुई साताअघि जिल्लाका सरोकारवालाहरुसँग आयोजित भर्चुअल बैठकमा मन्त्री नेम्वाङले जिल्ला अस्पतालको स्तरोन्नतिलाई आफूले मुख्य प्राथमिकतामा राख्ने बताएका थिए । कोभिड–१९ सङ्क्रमणको महामारीमा जुध्न पाँचथर सहित पूर्वी पहाडमा संरचना नै कम र अप¥याप्त भएकाले यो अस्पतालको स्तरोन्नतिमार्फत उक्त समस्या समाधान गर्नुपर्ने मत मन्त्री नेम्वाङले राख्दै आएका छन् ।
मन्त्री नेम्वाङकै पहलमा गत वर्ष जिल्ला अस्पतालमा आइसीयू र भेण्टिलेटर जडानका लागि प्रधानमन्त्री कोभिड–१९ आकस्मिक कोषबाट रु. दुई करोड बजेट समेट छुट्टिई संरचना निर्माणको प्रकृया अगाडि बढेको अस्पताल विकास समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटाले जानकारी दिए । २०० शैय्याभन्दा कम क्षमताका अस्पताल प्रदेश सरकार मातहत रहने नीतिगत ब्यवस्था छ । सोही ब्यवस्थाबमोजिम पूर्वी पहाडमा धेरै सेवाग्राहीले सेवा लिने पाँचथर अस्पतालको स्तरोन्नति गर्न मन्त्री नेम्वाङले पहल लिएका उनको सचिवालयले जनाएको छ ।








