असार, ६ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा पुस्तान्तरणको मुद्दा मूलधार बन्दै गर्दा पहिलो पुस्ता अर्थात् तीन जना अध्यक्षमाथि दबाब चुलिएको छ ।
केन्द्रीय विशेष समिति र निर्देशन समिति गठन गर्ने क्रममा अध्यक्ष मण्डलले लोकप्रिय नेता धवलसम्शेर राणालगायत नेताहरुलाई छेकबार गरेको आरोप छ । यही विषयमा राप्रपावृत्त अहिले तातिएको छ ।
विशेष समितिमा नपरेपछि नेता धवलसम्शेरको लोकप्रियता देशव्यापी चुलिएको छ । युवा पुस्ताप्रति तीन अध्यक्ष पशुपति शम्शेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाको अनुदार दृष्टिले गर्दा पुस्तान्तरणको माग झन् बढेर गएको छ ।
थापा र चन्दको उदारता
२०५९ सालको महाधिवेशनमा संस्थापक अध्यक्षद्वय सुर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दले दोस्रो पुस्ताका लागि नेतृत्व हस्तान्तरणको मार्ग प्रशस्त गरेका थिए ।
पोखरा अधिवेशनको क्रममा थापा ७२ वर्ष र चन्द ६२ वर्षका थिए । पशुपति शम्शेर, डा। लोहनी र रवीन्द्रनाथ शर्मा चुनाव लड्दा राणा अध्यक्षमा निर्वाचित भएका थिए ।
समिति समावेशी भएनन्
राप्रपा सिद्धान्ततः समावेशी संरचानाप्रति प्रतिवद्ध छ, यो कुरा विधानमा समेटिएको छ । तर हालै गठित राप्रपाको उच्च तहका समितिहरु समावेशी छैनन् । पच्चीस सदस्य विशेष समितिमा महिला चार प्रतिशत, मधेसी चार प्रतिशत, दलित शून्य छन् भने अन्य ६८ प्रतिशत छ्न् ।
उमेर समूहका आधारमा विशेष समितिमा ९२ प्रतिशत ६० वर्ष माथिका छन् । पचास देखि ५९ वर्ष सम्मका आठ प्रतिशत छन् भने ५० वर्ष मुनिका शून्य छन् अर्थात् एक जना पनि छैनन् ।
भर्खरै गठन भएको समितिमा प्रादेशिक सन्तुलन पनि अस्वभाविक छ । विशेष समितिमा बागमती प्रदेशको प्रतिनिधित्व ५२ प्रतिशत छ । त्यसैगरी प्रदेश नं १ को आठ प्रतिशत, प्रदेश नं ७ को चार प्रतिशत प्रतिनिधित्व छ । कर्णाली प्रदेशको शून्य अर्थात् एक जना पनि समितिमा अटाएका छैनन् ।
दुबै समितिमा महाधिवेशनमा निर्वाचित नेताहरु प्राथमिकतामा परेका छैनन् । जनाधार नभएका सदस्यहरुको बाहुल्य रहेको भन्दै पहिलो पुस्ताका अध्यक्षहरु आलोचित छन् । युवा, महिला बहिष्कृत जस्तै छन्।







