माओवादीबाट एमाले बनेका १७ केन्द्रीय सदस्य र १४ जनप्रतिनिधि पदमुक्त भएको पत्र निर्वाचन आयोगमा

असार, ७ काठमाडौं । नेकपा माओवादी केन्द्रबाट नेकपा एमाले बनेका १७ जना केन्द्रीय सदस्य र १४ जनप्रतिनिधि पदमुक्त भएको पत्र निर्वाचन आयोगमा पुगेको छ ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार सोमवार बसेको केन्द्रीय कमिटी बैठकबाट निर्णय भएर माइन्युटसहित विवरण सच्याउनका लागि पत्र निर्वाचन आयोगमा गएको हो ।

पदमुक्त भएका १७ जना केन्द्रीय सदस्यमा राम बहादुर थापा ‘बादल’सहित टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह, गौरीशंकर चौधरी लगायत छन् ।

यसअघि नै कारवाहीका लागि पत्र पठाइएको पनि केन्द्रीय समितिको निर्णय नभएको भन्ने आयोगबाट आएका कारण केन्द्रीय समितिको निर्णय गरेर पठाइएको माओवादी केन्द्रले जनाएको छ ।

यस्तै, माओवादी केन्द्रले नेकपा विभाजनपछि एमालेतर्फ लागेका स्थानीय तहका १४ जना जनप्रतिनिधिको पद रिक्त गराउन निर्वाचन आयोगमा विवरण बुझाएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

माओवादीबाट निर्वाचित भइ एमाले बनेका कारण कारबाहीमा परेकाहरुमा दुई नगरपालिकाका मेयर, गाउँपालिका अध्यक्षसहित विभिन्न जिल्लाका वडाध्यक्ष र सदस्यहरु छन् ।