विद्युतको पोलबाट खस्दा इलेक्ट्रिसियनको मृत्यु

भदौ ३०, पर्वत ।
नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रमा कार्यरत एक कर्मचारीको विद्युतको पोलबाट खसेर ज्यान गएको छ । सोमबार साँझ कुश्मा नगरपालिका–७ खरेहामा विद्युत मर्मतका लागि पोल चढेका ३५ वर्षिय भोलाराम शर्माको मृत्यु भएको हो ।

बाग्लुङ नगरपालिका–१ रामरेखा घर भएका शर्मालाई पोलबाट खसेपछि उपचारका लागि पर्वत अस्पतालमा पुर्याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिए । अवरुद्ध भएको विद्युत् लाइन मर्मतका लागि उनी साँझ साढे ७ बजे पोलमा चढेका थिए ।

उनलाई करेन्ट भने नलागेको वितरण कन्द्रले जनाएको छ । मृतक शर्मा नेपाल विद्युत् प्राधिकरणमा तेस्रो तहको इलेक्ट्रिसियन पदमा कार्यरत थिए । शव परीक्षणका लागि पर्वत अस्पतालको शवगृहमा राखिएको छ । परीक्षण गरेर मंगलबार परिवारलाई बुझाइने प्रहरीले जनाएको छ । (रासस)