असार, १२ काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री वसन्तकुमार नेम्वाङले प्रतिनिधिसभा विघटन भएको अवस्थामा पनि राज्यका काम कारवाही अघि बढाई जनतालाई चाँडोभन्दा चाँडो सेवा दिन सरकारले प्रतिबद्ध रहेको बताएका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा शुक्रबार कार्यभार सम्हालेपछि आयोजित स्वागत कार्यक्रममा मन्त्री नेम्वाङले सदन नभएका बेला राज्य थला परेर बस्न नमिल्ने स्पष्ट गर्दै जनताका समस्या समाधान गर्नुपर्ने सरकारको दायित्व भएको बेला सरकार चुप लागेर बस्न नमिल्ने जनाए ।
मन्त्री नेम्वाङले मुलुक अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको जनाउँदै गत तीन वर्षको अवधिमा सरकारले विभिन्न लोकप्रिय काम गरेको स्मरण गराए । प्रतिनिधिसभा विघटन गर्नु बाध्यात्मक अवस्था भएको बताउँदै उहाँले निर्वाचनका लागि संसद् विघटन गर्नु प्रधानमन्त्री केपी शर्मा ओलीको चाहना नभइ बाध्यता भएको स्पष्ट पारे ।
उनले कोभिड १९ का कारण सरकारले लक्ष्य अनुसार काम गर्न नसकेको तर असहज अवस्थामा पनि सरकार आफ्नो दायित्वबाट पछि नहटेको उल्लेख गर्दै उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय संकल्पका साथ काम गरिरहने बताए ।
कोरोनाविरुद्धको खोप दिलाउन र दैवीप्रकोपको समस्या समाधान गर्न सरकार लागि परेको जनाउँदै उहाँले शान्ति सुरक्षा कायम गर्न तथा जनतालाई स्वास्थ्य सेवाको सुनिश्चितता गर्न सरकार एक इञ्च पनि पछि नहट्ने ढृढता व्यक्त गरे । सूचनाको सेवा सही ढंगले र व्यवस्थित गर्न आवश्यक भएको सुनाउँदै मन्त्री नेम्वाङले सही सूचना नदिए त्यसलाई नियमन गर्नुपर्ने आवश्यकता औँल्याए । दुर्गम भेगमा सूचना सेवा पुर्याउन आवश्यक रहेको भन्दै उहाँले लामो समयदेखि अडकिएर रहेका काम अघि बढाउन जरुरी रहेको बताए ।
सही सूचना सम्प्रेषण गर्न निजी तथा सरकारी सञ्चारमाध्यमसँग आग्रह गर्दै मन्त्री नेम्वाङले जस्तोसुकै असहज अवस्थामा पनि प्रतिफल दिने गरी काम गर्न निर्देशन दिए ।
मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले मन्त्रालयले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य अनुसार नै आफ्नो काममा दृढतापूवर्क काम गरिरहेको बताए ।
नेपालबारे विदेशीले पनि जानकारी राख्न सजिलो होस् भनेर एनटिभी वल्र्ड प्रशारणको तयारी भइरहेको सचिव बस्यालले जानकारी दिए । उनले राष्ट्रिय समाचार समिति (रासस) र गोरखापत्र संस्थानको भौतिक पूर्वाधार निर्माणका लागि आवश्यक बजेट उपलब्ध गराइ दिन अर्थ मन्त्रालयसँग समन्वय भइरहेको पनि बताए ।
कार्यक्रममा राससका कार्यकारी अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’, महाप्रबन्धक सिद्धराज राई, गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारी, नेपाल टेलिभिजनका अध्यक्ष डा महेन्द्र विष्ट, न्यूनतम् पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्याल, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालसहित मन्त्रालयका कर्मचारीहरुको उपस्थिति थियो ।






