बलात्कारी विरुद्ध उजुरी दिन गाउँलेले रोकेपछि किशोरीले गरिन् आत्महत्या

भदौ ३१, सप्तरी ।
बलात्कारी विरुद्ध उजुरी दिन गाउँलेले रोक लगाएपछि सप्तरीकी एक किशोरीले आत्महत्या गरेकी छिन् । सोमबार बिहान धानखेतमा पानीको अवस्था हेर्न पुगेकी किशोरीमाथि सामुहिक बलात्कार भएको थियो ।

तर प्रहरीमा उजुरी दिन खोज्दा गाउँलेको भेला बसी उनलाई रोकेका थिए र जाहेरी नदिन चेतावनी दिएका थिए । उनकी आमाका अनुसार घटनापछि उनी निकै तनावमा थिइन् । त्यसपछि उनले मंगलबार आत्महत्या गरेकी हुन् ।

मृतकमा डाक्नेश्वरी गाउँपालिकाकी १७ वर्षिया किशोरी छिन् । सप्तरी प्रहरीका अनुसार बलात्कारी ४ जनामाथि मृतक किशोरीकी आमाले दिएको किटानी जाहेरी लिइसकिएको छ ।

घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सन्तोष खड्काका अनुसार पञ्चहरूको निर्णयबाट चित्त नबुझेपछि किशोरीले पीडा सहन नसकी आत्महत्या गरेकी हुन् । मण्डल समुदायका ८÷१० जनाको छलफलले पीडित र उनकी आमालाई प्रहरी कार्यालय जान रोक लगाउने निर्णय गरेका थियो । आरोपितहरूबाट ५५ हजार रूपैयाँ क्षतिपूर्ति भराउने निर्णय भएको थियो ।

साना घटनामा प्रहरी कार्यालय आउने तर संवेदनशील घटना लुकाउन खोज्ने प्रवृत्तिले प्रहरीलाई घटना अनुसन्धान गर्न र अपराधी पक्राउ गर्न समस्या हुने गरेको प्रहरी निरीक्षक खड्काले बताए । घटनाको खबर पाएलगत्तै प्रहरी निरीक्षक खडकाको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय सप्तरीको टोली, प्रहरी निरीक्षक धर्मराज मुडभरीको नेतृत्वमा इलाका प्रहरी कार्यालय कल्याणपुरको टोली, इलाका प्रहरी कार्यालय पातो र प्रहरी चौकी प्रवाहाको टोली घटनास्थल पुगेको थियो ।

घटनास्थलमा पीडितले जोगिनका लागि धानबाली र आली समातेर गरेका संघर्षका चिन्ह, मडारीएको धानका बारला, फुटेका हातका चुरा र अन्य प्रमाण भेटिएका छन् ।


आरोपित फरार
किशोरीको मृत्युपछि उक्त घटनाका चारै आरोपित गाउँबाट फरार भएका छन् । घटनास्थल पुगेको प्रहरी टोलीले पीडितलाई प्रहरी कार्यालय जान रोक लगाउने र क्षतिपूर्ति भराउने निर्णय सुनाउने पञ्चहरू जयकान्त मण्डल, वासुदेव मण्डल र सत्यनारायण मण्डललाई भने पक्राउ गरेको छ ।

पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय कल्याणपुरको नियन्त्रणमा राखिएको छ । मृतकको शव मङ्गलबार राति राजविराज ल्याइएको छ । प्रहरी निरीक्षक खड्काले शवको परीक्षण धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिने जानकारी दिनुभयो ।