भदौ ३१, इलाम ।
हरियो चियापत्तिको मूल्य तोकिए बमोजिम नपाएको भन्दै आन्दोलित किसानलाई सूर्योदय नगरपालिकाले न्यूनतम मूल्य दिलाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
नगरपालिकाले बनाएको मापदण्डअनुसार उद्योगीले किसानलाई भुक्तानी गरेका छैनन् । नगरले बनाएको ‘गुणस्तरीय चिया उत्पादन मापदण्ड कार्यान्वयन कार्यविधि–२०७५’ मा चियाको न्यूनतम मूल्य प्रतिकेजी ४० रूपैयाँ किसानले पाउनुपर्ने उल्लेख छ ।
तर उद्योगीले किसानलाई त्यसभन्दा कम भुक्तानी गर्ने गरेका छन् । यस बेला कोरोनाको बहानामा अधिकांशले कम भुक्तानी गरिरहेको किसानको गुनासो छ ।
नगरपालिकाले भने उद्योगीसँग समन्वय गरी कार्यविधिमै तोकिए अनुसारको भुक्तानी दिन लगाउने नगरप्रमुख रणबहादुर राईले बताए । ‘नगरपालिका किसानको पक्षमा छ । जसरी पनि किसानलाई न्यूनतम मूल्य उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्छु,’ राईले थपे, ‘किसानलाई हतोत्साहित नहुन आग्रह गर्छु ।’
सूर्योदय नगरको मुख्य नगदेबालीको रूपमा नगरका करिब ६ सय ५५ भन्दा बढी किसान चियाखेतीम आबद्ध छन् । तर नगरपालिकाले बनाएको मापदण्ड नमान्दैे किसानलाई उद्योगीले न्यूनतम मूल्य दिन आनाकानी गरिरहेका छन् ।
न्यूनतम मूल्य दिइनुपर्ने माग सहित असारको पहिलो सातादेखि नै किसान आन्दोलित छन् । तर उद्योगीले माग पुरा गर्नेतर्फ चासो दिएका छैनन् । कति उद्योगीले न्यूनतम मूल्य नदिएको स्पष्ट तथ्यांक नगरसँग नभए पनि अधिकांशले नदिएको गुनसो सुनिएको नगरप्रमुख राईले बताए ।







