संसद विघटन ठिक लागेको थिएन, आफ्नै सरकारको निर्णय भएकाले बचाउमा लागेंः पृथ्वीसुब्बा गुरुङ

भदौ, ७ काठमाडौं । नेकपा एमालेका सचिव पृथ्वी सुब्बा गुरूङले तत्कालिन केपी शर्मा ओलीले गरेको संसद विघटन आफुलाई ठिक नलागेको बताएका छन् ।

तत्कालिन ओली नेतृत्वको सरकारले संसद विघटन गदौ उनी त्यसको पक्षमा उभिएका थिएन । तर, सर्वोच्च अदालतबाट तत्कालिन प्रधानमन्त्री ओलीले दुई पटक सम्म गरेको संसद विघटन पुनस्थापना भएर राजनीतिले नयाँ मोड लिइसकेपछि सचिव गुरुङले संसद विघटन आफुलाई ठीक नलागेको बताएका हुन् । त्यसबेला आफ्नै सरकारको निर्णय भएकाले बचाउमा लागेको पनि उनको प्रष्टीकरण छ ।

‘केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि माधव कुमार नेपाल, पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्यसको विरुद्धमा लागे । व्यक्तिगत रूपमा संसद विघटन मलाई पनि ठिक लागेको थिएन । तर, संस्थाले निर्णय गरेको हुनाले मात्रै बचाउमा लागें’ सचिव गुरूङले भनेका छन् ।

तत्कालिन नेपाल कमयुनिस्ट पार्टीमा पार्टीभित्रैको विवादमा, माधव र प्रचण्डजीहरूले असन्तुष्टि देखाएको, अर्को हेडक्वाटर खडा गरेर चल्न थाले स्मरण गर्दै उनले त्यसबेला पार्टीलाई एकढिक्का बनाउन केपी ओलीले भूमिका खेल्नुपर्नेमा त्यसबेला ओलीको केही कमजोरी हुन गएको पनि उनले बताए ।

‘पार्टीभित्रैे विवादमा, माधव र प्रचण्डजीहरूले असन्तुष्टि देखाउनुभयो । अर्को हेडक्वाटर खडा गरेर चल्न थाल्नुभयो । त्यो बेला चाहिँ पार्टीले छलफल चलाएर निश्कर्षमा पुग्नुपर्ने हो, केपी ओलीको भूमिका त्यहाँनेर थियो’ सचिव गुरूङले भने । तर, पार्टी विवाद समाधान हुनुको सट्टा बढ्दै बढ्दै गएर संसद विघटन सम्मको अवस्थामा पुगेको उल्लेख गर्दै उनले संसद विघटन अघि पार्टी विवादमा केपी ओलीको कमजोरी भएको भए पनि संसद विघटन र सर्वोच्च अदालतबाट पुनस्थापना भएपछि एमाले विवादमा केपी ओलीको भन्दा अन्यको बढ्ता भूमिका रहेको भन्दै बचाउ गरे ।

‘उहाँ (माधव नेपाल) हरू लगातार संसद पुनर्स्थापनामा लाग्नुभयो र भयो पनि । संसद पुनस्र्थापना भएपछि पनि फेरि भत्काउनै खोज्न त जरुरी थिएन नि । त्यो त एउटा बहानामात्र थियो । उहाँहरू त पार्टी नै ध्वस्त पार्न लाग्नुभयो’ उनले भने ।

संसद पुनस्थापना गर्न लागेको गठबन्धनको मुख्य लक्ष्य जसरी पनि केपी ओलीको सरकार ढलाउनै रहेको र त्यस अनुसार संघ देखि प्रदेश सरकारहरु फेरिन पुगेको उनको बुझाइ छ । र अहिले एमाले विभाजनको दोष पनि केपी ओलीलाई मात्रै लगाउने अभियान चलिरहेको भन्दै उनले त्यसको भने विरोध गरे । ओलीको बचाउ गरे । ‘यो अवस्थासम्म आइपुग्न पार्टी अध्यक्ष र प्रधानमन्त्रीसमेत भएकाले ओलीको पनि भूमिका त होला तर मुख्य रूपमा पार्टी टुक्र्याउने र त्यो त्यसको दोष ओलीलाई लगाउने अभियानै चलेको छ ।’ उनले भने ।

अब तत्काल एकता हुँदैन

एमाले विवादमा एमालेका दोस्रो तहका नेताहरू अझै एकताको रटान लगाइरहेका छन् । तर, अब त्यस्तो संभवना नरहेको गुरुङ बताउँछन । ‘एकता अब तत्काललाई सम्भावना देखिँदैन । उहाँहरूको तागतले मात्र एमाले विभाजित भएको होइन, ठूलो शक्ति लागेको हो’ उनले थपे, तथापि, केही समयपछि एकताको सम्भावना रहन सक्छ । पहिले पनि ३/४ वर्षपछि एकता भएको हो ।’

अब एमाले विभाजन हुनुको कारणको समिक्षा गर्ने बेला आएको पनि उनले बताए ।

‘माधव नेपाल लामो समय एमालेको नेतृत्वमा रहनुभएको मान्छे हो । नेतृत्वमा नरहँदा पनि दोस्रो, तेस्रो भूमिकामा रहेर पार्टीको काम गरेको मान्छे हो । पार्टीमा जहिले पनि मूल धार र मुख्य भूमिकामा रहेर उहाँले काम गर्नुभएको हो’ उनले थपे, ‘आज यो अवस्था किन पुग्नुभयो ? कसरी पु¥याइयो ? हामीले समीक्षा गर्ने, अनुसन्धान गर्नुपर्ने छ’ उनले भने ।

सचिव गुरुङले थपेका छन्, ‘समयक्रममा साथीहरूले गल्तीको महसुस गर्नुहोला । पार्टी व्यवस्थापनमा के कमजोरी भयो, हामीले पनि छलफल गरिरहेकै छौं ।’