३१ भदौ, काठमाडौं । कोरोना संक्रमणका कारण घरमै आइसोलेसनमा बसेका कांग्रेस महामन्त्री डा. शशांक कोइ्रालाई अचानको ज्वरो आएपछि अस्पताल भर्ना गरिएको छ ।
ऊँ हस्पिटल एण्ड रिसर्च सेन्टरमा उनको उपचार सुरु गरिएको छ । उनलाई प्यारासिटामोल दिएर आईसीयूभित्रको आइसोलेसनमा चिकित्सकीय निगरानीमा राखिएको छ ।
कोइरालाको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी अस्पतालले दिएको छ । अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी श्रेष्ठले बुधबार प्रेस विज्ञप्ति जारी गरेर महामन्त्री कोइरालाको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएका हुन् ।
अस्पतालका मेडिकल डाइरेक्टरसमेत रहेका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइरालाको नेतृत्वमा रहेको चिकित्सकीय टोलीले महामन्त्री कोइरालाको उपचार गरिरहेको श्रेष्ठले जनाकारी दिए ।
कोइरालालाई भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।






