माधव र महन्थको दलले पायो बैधता, तल्लो तहका जनप्रतिनिधिहरुले २१ दिनभिन नयाँ दल रोज्नुपर्ने

भदौ, १० काठमाडौं । निर्वाचन आयोगले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)लाई बैधता दिएको छ ।

सरकारले जारी गरेको राजनीतिक दल सम्बन्धी अध्यादेशको सुविधा प्रयोग गरेर माधव नेपाल र महन्थ ठाकुरले नयाँ दल गठन गरेका हुन् ।

नयाँ दल दर्ता भएसंगै तल्लो तहका जनप्रतिनिधिहरुले २१ दिनभिन नयाँ दल रोज्नुपर्ने भएको छ ।

सरकारले जारी गरेको राजनीतिक दल सम्बन्धी अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पु¥याएपछि दल विभाजन गर्न सकिने व्यवस्था गरेको थियो । सोही व्यवस्थाअनुसार एमालेको माधवकुमार नेपाल पक्षले २० प्रतिशत केन्द्रीय सदस्य संख्या पु¥याएर एमाले विभाजन गरी एकीकृत समाजवादी पार्टी गठन गरेको हो ।

यस्तै, जसपाको आधिकारिकता गुमाएपछि महन्थ ठाकुर पक्षले आफ्नो पक्षमा केन्द्रीय कार्यकारिणी र संसदीय दलका २० प्रतिशतभन्दा बढी सदस्यलाई लिएर लोसपा गठन गरेको छ ।

नेकपा एमाले विभाजन गरी एकीकृत समाजवादी पार्टी गठनका लागि एमालेको २०३ सदस्यीय केन्द्रीय कमिटीका ५५ जनाले सनाखत गरेका थिए । यो कुल सदस्य सङ्ख्याको २७ प्रतिशत हो ।

माधव नेपाल पक्षले केन्द्रीय कमिटीमा अध्यादेशले व्यवस्था अनुसारको संख्या जुटाएको छ । तर, एक सांसद अपुग हुँदा संघीय संसदमा २० प्रतिशत पुर्याउन सकेन । एमालेको १५४ सदस्यीय संसदीय दलका ३० जनाले मात्र सनाखत गरे । त्यो भनेको खुल संख्याको १९.४८ प्रतिशत हुन आउछ ।

यद्यपि माधव नेपाललाई साथ दिने संघीय सांसदको संख्या ३३ पुगे पनि तीन जनाले सनाखत गर्न नपाउँदा संसदीय दलमा २० प्रतिशत नपुगेको हो । तीन जनाले सनाखत गर्न पाएको अवस्थामा संसदीय दलमा पनि २१ प्रतिशत हुने थियो ।

यस्तै, २९ जना संघीय संसदले पनि नेकपा एकीकृत समाजवादी रोजेको नेता राजेन्द्र पाण्डेले जानकारी दिए । मंगलबार मात्र दल एकीकृत समाजवादीमा आउन निवेदन दिएका चार जनाले भने सनाखत गर्न पाएनन् । उनीहरुको हकमा आयोगले उपयुक्त निर्णय गर्ने विश्वास दिइएको नेता पाण्डेले बताए ।

अब प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुलाई दल रोज्न २१ दिनको समय दिइनेछ ।

२३ फागुन २०७७ को सर्वोच्च अदालतको फैसलापछि पुनर्स्थापित एमालेमा माधवकुमार नेपाल समूहले लगातार समानान्तर गतिविधि गर्दै आएको थियो । यो समूहमा रहेका १० स्थायी कमिटीसहित केन्द्रीय कमिटी र संघीय संसदको एउटा पक्ष भने नेकपा एमालेमै रहने भएको छ ।

यसैगरी, जनता समाजवादी पार्टी (जसपा) विभाजन गरी लोसपा दर्ताका लागि नेताहरुले दिएको निवेदनमा पनि निर्वाचन आयोगले बुधबार नै सांसद र केन्द्रीय सदस्यहरुलाई सनाखत गर्न बोलाएको थियो ।

नयाँ दल दर्ताका लागि जसपाका ५१ सदस्यीय कार्यकारिणी समितिका १७ जनाले सनाखत गरेका छन् । यो कुल सदस्य सङ्ख्याको ३३ प्रतिशत हो ।