‘भदौ, १० काठमाडौं । आमा दिदीबहिनी हो कति बस्छौ दासी भई सुखको सधैँ प्यासी बनेर’
नेपाली समाजलाई उचनिचको व्यवहारबाट दोस्रो दर्जामा पारिएका महिलालाई विद्रोहको झण्डा बोक्न प्रेरित गर्ने वरिष्ठ जनगायक जेबी टुहुरेको निधनबाट नेपालको साङ्गीतिक क्षेत्रमा अपुरणीय क्षति भएको छ ।
खास नाम जुठबहादुर खड्गी भए पनि नेपालीले उनलाई जेबी टुहुरे भनेर नै चिने । जनताको गीत गाउने गायकको खास परिचय बनाएका उनले उपचारको क्रममा निधन भएको हो । केही दिन पहिले आफ्नै घरमा लड्नुभएका टुहुरेको बल्खुस्थित बयोधा अस्पतालमा निधन भएको हो । टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको नेकपा ९माओवादी केन्द्र० निकट अखिल ९क्रान्तिकारी०का उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।
उपचारमा संलग्न चिकित्सकले उनलाई स्ट्रोक भएको बताएका थिए । उनलाई सिसीयूमा राखेर उपचार गराइएको थियो । विसं २०२४ देखि निरन्तर जनताको गीत गाउँदै आउनुभएका टुहरेको अधिकांश गीत लोकप्रिय छन् । टुहुरेको ‘बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुँदो छ, लाखौँका लागि उजाड छ यो देश मुठ्ठीभरिलाई त स्वर्ग छ’ भन्ने गीत पनि उत्तिकै चर्चित छ ।
विसं २०२८ देखि सुरु भएको झापा विद्रोह र त्यसपछि सिर्जना भएको राजनीतिक अवस्थाले धेरैजसो नेता, कार्यकर्ता विस्थापित भए । टुहुरे भने त्यतै गाउँगाउँमा गीत गाउँदै लुकीलुकी हिडे । उनी त्यतिबेला कोशी प्रान्तीय परिषद्मा सङ्गठित थिए । पञ्चायतकालका आफ्ना अधिकारको कुरा गर्नु नै अपराधजस्तो ठानिन्थ्यो । त्यसै बेला गीत गाएर मानिसको अधिकारको कुरा गर्नु कति जोखिमपूर्ण थियो होला ? उनले सुनाएका थिए । धरानको सैनिक भवनमा विसं २०३३ मा पहिलोपटक ‘आमा दिदीबहिनी हो’ भन्ने गीत गाएको उहाँले सुनाउनुभएको थियो । त्यसपछि यो गीत कतिपटक गाएँ भन्ने आफैँलाई हेक्का छैन ।
सुनसरीको धरानका स्थायी बासिन्दा रहनुभएका टुहरेलाई नेकपा (माओवादी केन्द्र)ले दोस्रो संविधानसभामा समानुपातिक प्रणालीअन्तर्गत संविधानसभा सदस्य बनाएको थियो । संविधानसभामा पनि उहाँले आफ्नै लोकशैलीमा धारणा राख्ने गर्दथे ।
उनको पार्थीव शरीरलाई आज साढे २ बजेसम्म पेरिसडाँडामा श्रद्धाञ्जलिका लागि राखिने भएको छ । त्यसपछि उहाँको पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कारको तयारी गरिएको छ । झण्डै आधा शताब्दीभन्दा बढी नेपाली जनवादी गीत–सङ्गीगतमार्फत जनताको बीचमा मुक्ति, स्वतन्त्रता र परिवर्तनको शङ्खनाद गर्ने वरिष्ठ जनगायक टुहुरेको निधनप्रति सामाजिक सञ्जालमा दुःख व्यक्त गरिएको छ ।
टुहुरे नेपाली वाम–लोकतान्त्रिक आन्दोलनका एक अथक, पुराना र अत्यन्तै निष्ठावान् व्यक्तित्व हुनुहुन्थ्यो । विसं २००१ कात्तिक १५ गते पूर्वी नेपालको धरानमा जन्मनुभएका टुहुरेले विसं २०२४ देखि जनताको गीत गाउन थालेका थिए । विसं २०२५ बाट पूर्व कोशी प्रान्तीय कमिटीमार्फत कम्युनिष्ट पार्टीको सदस्यता लिनुएका टुहुरेले आफ्नो सिङ्गो जीवन कम्युनिष्ट आन्दोलनमा बिताए । टुहुरेले गीत–सङ्गीतका माध्यमबाट तत्कालीन पञ्चायती कालरात्रिका विरुद्ध जनतालाई जागृत र पछिल्लो लोकतान्त्रिक गणतन्त्र प्राप्तिको आन्दोलनमा समेत अग्रभागमा रहि उल्लेखनीय योगदान पु¥याएका थिए ।
टुहुरे विसं २०५२ देखि २०५९ सम्म राष्ट्रिय जनसांस्कृतिक मञ्चको अध्यक्ष, सांस्कृतिक संस्थानको अध्यक्ष हुँदै २०७० मा तत्कालीन माओवादीबाट संविधानसभाको सदस्य बनेका थिए । त्यसबखत उनले व्यवस्थापिका संसद्को श्रम तथा अन्तर्राष्ट्रिय समितिको सभापतिको जिम्मेवारीसमेत निर्वाह गरेका थिए। त्यसयता टुहुरे लगातार नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सल्लाहकारको जिम्मेवारीमा हुनुहुन्थ्यो । टुहुरेका श्रीमती, एक छोरा र चार छोरी छन् ।







