निर्वाचन आयोगले माधव नेपाल र महन्थ ठाकुरको दल दर्ताको जानकारी संसदमा पठायो

भदौ, ११ काठमाडौं । निर्वाचन आयोगले माधव कुमार नेपाल नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी दल दर्ता भएको जानकारी संघीय संसद सचिवालयमा पठाएको छ ।

नेकपा (एकीकृत समाजवादी) मा ३० सांसद रहेको र लोकतान्त्रिक समाजवादीमा १४ सांसद रहेको विवरण आयोगको पत्रमा रहेको संसद सचिवालयले जनाएको छ ।

गत निर्वाचनमा एमाले पार्टीबाट निर्वाचित थप चार जना सांसदले पनि नेकपा (एकीकृत समाजवादी) मा रहन चाहेको निवेदन प्राप्त भएको पनि आयोगले संसद सचिवालयलाई जानकारी गराएको छ ।

माधव नेपालले गत भदौ २ गते निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिँदा हस्ताक्षर नगरी बसेका सांसदहरु सोमप्रसाद पाण्डे, माया ज्ञवाली, तुलसा थापा र शारदादेवी भट्टले भदौ ९ गते सनाखत गर्न पाउँ भन्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए । तर, आयोगले उनीहरुको निवेदनका सन्दर्भम कुनै निर्णय लिएको छैन ।

सरकारले २० प्रतिशत संघीय संसद वा केन्द्रीय समितिमा पर्याएर दल विभाजन गर्न पाउने गरी अध्यादेश ल्याएपछि एमाले फुटेर नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) फुटेर लोकतान्त्रिक समाजवादी पार्टी बनेको हो ।

यी दुबै दललाई निर्वाचन आयोगले यहि भदौ ९ गते केन्द्रीय समिति र सांसदहरुको सनाखत गराएर दल दर्ता गरेको हो ।