भदौ, २३ काठमाडौं । संसदीय दलको बैठकमा कांग्रेस सांसदहरुले एमसीसीलाई अगाडि बढाउँदा त्यसले आगामी चुनावमा कस्तो असर पर्छ ? भनी ख्याल गर्नुपर्ने बताएका छन् । यसबारे सरकारले ख्याल गरेको छ कि छैन ? भन्ने प्रश्न सरकारलाई उनीहरुको छ ।
सांसद मीन बहादुर बिश्वकर्माले कांग्रेस कार्यकर्ताको चाहना सरकार एमसीसीमा नफसोस भन्ने रहेको बताए ।
‘कार्यकर्ताको कुरा गर्ने हो भने सरकार यसमा नफसोस भन्ने छ । नबोलौ बोल्नुपर्ने छ । बोलौ के बोलौ ? माधव नेपालहरु सडकमा छन एमसीसीविरुद्ध । माओवादीको कुरा त्यही छ । अनि हामी अगाडि किन ?’ उनले थपे, ‘चुनावमा यसको कस्तो असर पर्छ ? काग्रेसले आगामी चुनाव जित्ने हो भने यस्ता कुरामा ख्याल गर्नुपर्नेहुन्छ ।’
सांसद अत्तहर कमाल मुसलमानले भने, ‘महाकाली सन्धी एउटा रुपमा रह्यो । त्यसैगरी एमसीसी आएको छ । यसलाई अगाडी बढाउदा चुनावमा कस्तो असर पर्न सक्छ ? एमसीसी अगाडि बढाउदा आगामी चुनावमा कस्तो असर पर्छ भनेर ख्याल गरिएको छ ? ’
एमसीसी पास गर्दा यसलाई अरु दलले राजनीतिक मुद्धा बनाउन सक्ने भएकाले त्यसतर्फ ख्याल गरिनुपर्ने उनले बताए ।
अर्का सांसद देव प्रसाद तिमल्सिनाले ‘एमसीसी पास गर्नै खोजेको हो कि के हो ?’ भनी प्रश्न गरे ।
तर, सांसदहरुको प्रश्नको सिधा जवाफ प्रधानमन्त्री शेरबहादुर देउवाले दिएनन् । बरु उनले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे बुझेका सांसदहरुले मात्र बोल्न निर्देशन दिए ।
संसदीय दलका नेता देउवाले अघिल्ला सरकारहरुले पनि कानून बनाएर एमसीसीलाई अघि बढाउँदै आएको बताए ।
यो प्रतिस्पर्धाबाट प्राप्त गरेको अनुदान भएको र यससँग लोकतान्त्रिक देशको सम्बन्ध पनि जोडिएको भन्दै उनले भने, ‘जुनसुकै सहयोग प्राप्त गर्दा पनि शर्तहरु हुन्छन् ।’
तर एमसीसीबारे अनावश्यक भ्रम फैलिएको भन्दै उनले भने, एमसीसीबारे बुझेका सांसदहरु बोल्नुस् । नबुझेका सांसदहरु नबोल्नुस् ।’







