२३ भदौ, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रस्तुत हुनेबारे प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको रणनीति (बोली) ३ घण्टा पनि टिकेन ।
बुधबार नयाँ बानेश्वरस्थित संसद भवनकै लोत्से हलमा बसेको बैठकमा संसदीय दलका नेता ओलीले सभामुखको व्यवहारमाथि प्रश्न उठाए । अधिवेशन अन्त्य र आह्वान छापामारशैलीमा गरेको भनी आलोचना गरे । एमाले फुटाउने सत्तागठबन्धनको सारथी सभामुख सापकोटा भएको भन्दै उनले संसद बैठक चल्न नदिने बताएका थिए । राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान सम्बन्त्री पत्र पनि किन पढ्न दिने ? भन्दै उनले राष्ट्रपतिको पत्र नै पढ्न नदिएर संसद अवरोध गर्ने बताए ।
तर, एमालेले ओलीको अभिव्यक्ति अनुसारको व्यवहार देखाएन । संसद बैठक सुरु भएपछि सभामुख सापकोटाले राष्ट्रपतिबाट प्राप्त पत्र बाचन गरेर सुनाए ।
यसैगरी, संसदीय दलको बैठकमा एमाले अध्यक्ष ओलीले आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसद अहिले पनि सांसदको लोगो लगाएर हिडिरहेको उल्लेख गर्दै उनीहरु गैरकानुनी भएको बताए । ती १४ जना सांसदको उपस्थितिमा संसद बैठक चल्न नदिने उनको भनाइ थियो । ती १४ जना सांसदलाई ढोकैमा रोक्नुपर्ने अन्यथा आफ्नो पार्टीले संसदमा अवरोध गर्ने उनको भनाइ थियो ।
संसद बैठकमा एमालेले १४ जना सांसदलाई कारबाही गरिएको सन्दर्भमा सभामुखको भूमिकालाई लिएर प्रश्न उठायो । तर, १४ जना सांसदको उपस्थितिलाई अस्वीकार गर्ने ओलीको बोली भने टिकेन ।
दिउँसो सवा १ बजेतिर सकिएको संसदीय दलको बैठकमा ओलीले संसद बैठकमा प्रस्तुत हुने बारे राखेको बोली दिउँसो साढे चार बजे बसेको बैठकमा लागू भएन । अर्थात, ओलीको बोली साढे तीन घण्टा पनि टिकेन ।







