सांसदको ‘हर्कत’ले संसदको ‘गरिमा’ धुलिसात

नेपालको संसदीय इतिहासमा भएका यस्ता केही दृष्टान्त

भदौ, २८ काठमाडौं । शुक्रबार प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले सत्तारुढ दल नेपाली कांग्रेस संसदहरू बस्ने सत्ता पक्षको पहिलो लहरको कुर्सी भाँचे ।

आफुहरुको अवरोधका बीच सभामुख अग्निप्रसाद सापकोटाले सदनको कामकारबाही अगाडि बढाएपछि रुष्ट एमाले सांसदहरुले रोष्ट्रममा जाने प्रयास गर्दा मर्यादापालकसंग घम्साघम्सी चल्यो । घम्साघम्सीमा टेबल भाँचिएपछि पहिलो लहरमा बसेका कांग्रेस सांसदहरु महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह र सीतादेवी यादव पछाडिको लहरमा गएर बस्नु प¥यो । एमाले सांसदहरूले रोष्ट्रममा उक्लने प्रयास गर्दा मर्यादापालकको काँध मात्र चढेनन्, हात टोके र चिथोरे पनि ।

प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँणको माइक तानेर रोष्ट्रमतर्फ (सभामुख र अर्थमन्त्री भएतर्फ) फ्याँक्ने प्रयास गरे । गृहमन्त्री खाँणको टेबुलको माइक तानेर रोष्ट्रमतर्फ फ्याक्न खोज्ने एमाले सांसद हुन्, रेखा कुमारी । बैठकपछि पत्रकारहरुले उनलाई माइक किन तानेको ? कसलाई हान्न खोजेको ? भनी प्रश्न गरे । जवाफमा सांसद रेखा कुमारीले उनले सभामुखलाई र अर्थमन्त्रीलाई हान्न माइक तानेको बताइन् ।

यो एक उदाहरण मात्रै हो । संसदमा सांसदका यस्ता हर्कत विगतमा पनि भएका छन् । जसले संसदको गरिमामाथि नै प्रश्न उठको सरोकारवालाहरु बताउछन् । प्रतिनिधिसभा नियमावली, राष्ट्रियसभा नियामावली छ, जहाँ सांसदहरुको मर्यादा के हुने ? उल्लेख छ । तर, सांसदहरु आफैँले बनाएको नियमावली र मर्यादा आफैँ पालना गरिरहेका छैनन् ।

शुक्रबार सरकारले नयाँ बजेटकै रुपमा बजेटको अध्यादेश ल्याउन खोज्दा एमालेले अर्थमन्त्रीलाई रोक्नका लागि रोष्ट्रममा जाने प्रयासमा मर्यादापालकको हात टोक्नेसम्मको हर्कत गरेका हुन् ।

विगतलाई हेर्ने हो भने बजेटहरु ल्याउँदा असन्तुष्टि मात्र होइन बजेट प्रस्तुतमा नै हंगामा भएको इतिहास छ । बजेट विवादित बन्दा असन्तुष्टि पोख्ने मात्र नभएर बजेट पेस गर्दै गरेको संसदमा ब्रिफकेस खोस्नेदेखि च्यात्नेसम्ममा घटनाहरु घटेका नजिरहरु छन् ।

तत्कालिन अर्थमन्त्री सुरेन्द्र पाण्डेले आर्थिक बर्ष २०६६÷६७ को बजेट संसदमा पेश गर्दा ठुलै हुलदंगा मच्चियो । बजेटका विरुद्ध तत्कालीन एकीकृत नेकपा माओवादीका सांसदहरुले पाण्डेमाथि आक्रमणकोे शैली अपनाए । मन्त्रीको हातबाट बजेटको ब्रिफकेस खोसेर मन्त्रीलाई नै सोही ब्रिकेसले प्रहार गरे । ब्रिकेसले लागेर पाण्डेलाई सामान्य चोट समेत लागेको थियो ।

नेपालको संसदीय इतिहासमा भएका यस्ता केही दृष्टान्त हेरौं–

२०४९ सालमा नेपाली कांग्रेसका तत्कालीन सांसद रामचन्द्र पौडेललाई एमाले सांसद गोल्चे सार्कीले थप्पड हानेका थिए । आरोप थियो – आफूमाथि अभद्र व्यवहार भयो ।

२०५६ सालमा एमालेको विरोधका बीच तत्कालीन सभामुख रामचन्द्र पौडेलले स्थानीय शासन स्वायत्त ऐन पारित भएको घोषणा गरे । लगत्तै संसदमा झडपको स्थिति बन्यो । तत्कालीन एमाले सांसदहरुले सभामुखको रोष्टम घेरे र नाराबाजी गरेका थिए । तर, स्थिति मर्यादापालकले सम्हाले ।

२०६४ सालमा संविधानसभाको पहिलो बैठकमा सभासद कमला शर्माले नेपाली कांग्रेसका सभासद पूर्णबहादुर खड्कालाई चप्पलले हानिन् । यो घटनाले पनि त्यसबेला संसदमा सांसदले कस्तो व्यवहार गर्नुपर्छ भन्ने बहस नै छेडेको थियो । तर, यस्तो प्रवृति रोकिएन ।

दोश्रो संविधान सभाको बैठकमा दुईवटा कुर्सी तोडफोड गरेपछि तत्कालीन सांसद सञ्जयकुमार साह त निलम्बनमा नै परेका थिए ।

संघमा देखिएका यस्ता प्रवृति प्रदेश सभाहरुमा पनि सरेको छ । १९ असोज २०७७ मा पाँच नम्बर प्रदेश सभामा कुर्सी तोडफोड भयो ।

सभामुख पूर्णबहादुर घर्तीले कांग्रेस सांसदहरुको नाराबाजीकाबीच राजधानी कहाँ रहने र राजधानीको नामको प्रस्तावमाथि छलफल अगाडि बढाएपछि कांग्रेसका सांसदहरुले प्रदेश सभामा नाराबाजीसहित कुर्सी तोडफोड गरेका हुन् । कांग्रेसका सांसदहरू रूपन्देहीका अष्टभुजा पाठक र नवलपरासीका सांसद वैजनाथ कलवारले कुर्सी उचालेर तोडफोड गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल नै भयो ।

३० असार २०७८ मा गण्डकी प्रदेशमा चलिरहेको बजेट अधिवेशनमा एमाले सांसद तथा पूर्वमन्त्री रामशरण बस्नेतले बजेटको विरोध गर्दै कुर्सी फाले । बजेट विनियोजन प्रक्रियाअनुसार नभएको भन्दै एमाले विरोध गरेको थियो । बजेटमाथिको छलफलका क्रममा एमाले सांसदहरुले नाराबाजी पनि गरे । त्यहि क्रममा बस्नेतले कुर्सी फालेका हुन् ।

यी घटनाहरुको भिडियो र फोटाहरु सामाजिक सञ्जालमा भाइरल नै भए । सांसदहरुको हर्कतको निकै आलोचना भयो । तर, रोकिएको छैन् । संघ देखि प्रदेशमा दोहोरोरिनेक्रम जारी छ ।

‘सांसदहरुको व्यवहार अमर्यादित’

संसदीय मामलाका जानकारहरु सांसदको व्यवहारबाट सन्तुष्ट हुन नसकिएको बताउँछन् ।

पूर्वसभामुख तारानाथ रानाभाट संसदको गरिमा राख्नेगरी सांसदहरुले भूमिका खेल्न सक्नुपर्ने बताउँछन् ।

उनका अनुसार पहिले पहिले संसद बैठकहरुमा कुर्सी भाँच्ने, माइक फुटाउने, संसदको रेलिङ भाँच्ने काम गर्थे । धेरैपटक संसद अवरोध हुन्थ्यो । ‘संसदमा विरोध गर्नु समान्य भए पनि झडप गर्न खोज्ने काम अराजक व्यवहार हो’ उनी भन्छन्, ‘त्यसलाई नियन्त्रण गर्ने विधिहरु छन् । सांसदहरु पनि संविधान, संसदीय ऐन नियम र संसदीय मर्यादाको परम्पराको अधीनमा रहनुपर्छ । रोष्टम घेर्ने भनेको अहिले सभामुखको आसनलाई घेर्न खोज्दा रहेछन्, खास घेर्ने भनेको बोलिरहेको ‘पोडियम’ हो ।’

सभामुखलाई पनि आफ्नो अर्को छुट्याउन मर्यादाले नदिने उनको भनाइ छ ।

‘हामीले निष्काशन गरेकालाई कारवाही किन गरिएन भन्ने एमालेको गुनासो छ । सभामुखले दर्ता गरेको कागजमा कानून आकर्षित भएको छ कि छैन, त्यसबारेमा पारदर्शिता गराइदिनुपथ्र्यो । कि यहाँ नियमावली आकर्षित देखिँदैन, तपाईहरुले भन्नेवित्तिकै कारवाही हुँदैन भन्न सक्नु¥यो’ उनले सभामुखको भूमिकाका सन्दर्भमा पनि प्रश्न गरे, ‘त्यतिकै भनेर मात्र भएन ऐन, नियमावली केमा छ, फलानो फलानो दफा उपदफाले भनेअनुसार तपाईको माग पूरा हुँदैन भन्न सक्नुप¥यो । किन प्रष्ट केही नगरेको ?’

संविधानसभा सदस्य समेत रहेका संसदीय मामलाका जानकार खिमलाल देवकोटा सांसदहरुको व्यवहार अमर्यादित हुँदा संसदको गरिमामा आँच पुगेको बताउँछन् ।

‘हाम्रो संसदको अभ्यास १०÷१५ वर्षदेखि भित्रै बसेर र त्योभन्दा अगाडिदेखि पनि निरन्तर हेरिराखेको छु । समग्रमा भन्दा म आफूलाई हाम्रोमा सांसदको भूमिका र व्यवहारबाट बिल्कुलै सन्तुष्ट पाउँदिनँ’ देवकोटा भन्छन्, ‘सैद्धान्तिक रूपमा हामी जे भन्छौं, व्यवहारमा त्यो भएको छैन ।’

उनी कुर्सी उचाल्ने, मर्यादापालकलाई टोक्ने, बिना अनुमति रोष्ट्रममा जाने त परको कुरा संसदमा एजेण्डाको विषयमा बाहेक अरू पढ्न नहुने, चुरोट, खैनी, गुट्खा जस्ता चिज खान नहुने, सभामुख र अरूका आसनको बीचबाट हिंड्न नहुने, अरू बोलिरहेको बेलामा बोल्न नहुने बताउँछन् ।

तर, यो माननीयहरुको आचारसंहिता बिपरितका संससदमा प्रस्तुत हुने गरेका सांसदको हर्कतले संसदको गरिमा धुलिसात भएको देवकोटा बताउँछन् । ‘संसदमा सभामुखलाई सम्बोधन गरेर बोल्नुपर्ने हुन्छ । यो संसदीय मर्यादा हो’ उनी भन्छन् । र अब समस्या समाधानका लागि सबैभन्दा पहिले सांसदले म को हुँ भन्ने बुझ्नुपर्ने उनको भनाइ छ । र संसदीय दललेसांसदको भूमिका, अभिव्यक्ति, व्यवहारमाथि निगरानी राख्नुपर्ने र आवश्यकता अनुसार कारबाहीमा जान सक्नुपर्ने उनको सुझाव छ ।