भदौ, २७ काठमाडौं । प्रतिनिधिसभा बैठकमा जारी रहेको अवरोध अन्त्यको प्रयास भएको छ । यो प्रयासमा सभामुख अग्नि प्रसाद सापकोटाले प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित संसदमा प्रतिनिधित्व गर्ने दलहरुसंग संवादको शुरुवात गरेका छन् भने निरन्तर बैठकमा अवरोध गर्दै आएको एमाले केही लचक भएको छ ।
संसद अधिवेशन शुरु हुनु अघि सभामुखले संसदका प्रतिनिधित्व गर्ने दलहरुसंग छलफल गर्ने अभ्यास छ । तर, यो अभ्यासलाई सभामुख सापकोटाले तोडेका थिए । उनले प्रमुख प्रतिपक्षी एमालेसंग संसदको चालु अधिवेशन सञ्चालनका विषयमा कुनै प्रकारको छलफल गरेका थिएनन् ।
तर, एमालेको निरन्तर अवरोध जारी रहेपछि सभामुख सापकोटाले संवादको थालनी गरेका हुन् । आइतबार प्रतिनिधिसभाको पहिलो बैठक स्थगित गरेर उनले एमालेका प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र एमाले सांसद खगराज अधिकारी र कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसंग सदनको अवरोध हटाउने विषयमा छलफल गरे ।
नेताहरुका अनुसार छलफलमा सभामुखले आफुले संविधान र कानुनबाहिर गएर कुनै कार्य नगरेको उल्लेख गर्दै संसदमा अवरोध नर्गन एमालेलाई आग्रह गरे । जवाफमा एमाले नेताहरुले आफ्नो पार्टी विभाजनमा किन भूमिका खेलेको भनी प्रश्न गरे ।
‘सभामुखले पार्टी फुटाउने मतियारको भूमिका खेलेको कुरा प्रष्ट भन्यौं’, बैठकपछि एमाले प्रमुख सचेतक भट्टराईले अनलाइनखबरसंग भने ।
सभामुखले १४ जना सांसदलाई कारबाही गरेको एमालेको पत्र अनुसार सूचना टास गर्नुपर्ने आफुहरुको प्रष्ट अडान रहेको राख्यौं’ एमाले सचेतक शान्ता चौधरीले बताइन् ।
कानुनमन्त्री कार्कीले भने शीर्ष नेताहरुको बीचमा छलफलको आवश्यकता औंल्याए । त्यसपछि सभामुखले सर्वदलीय बैठक बोलाउने भन्दै आइतबारको दोस्रो बैठकमा अवरोध नगरिदिन आग्रह गरे । तर, एमालेले मानेन् । ‘पहिले शीर्ष नेताहरुसंग छलफल गरेर सहमति निकाल्नुस् त्यसपछि सदन चल्छ’ सभामुखलाई दिएको जवाफ उद्धृत गर्दै एमाले सचेतक चौधरीले बताइन् ।
एमालेको निरन्तर अवरोध र अवरोध नखोल्ने अडानपछि सभामुख सापकोटाले सोमबारको दोस्रो बैठक स्थगित गरेर अर्को बैठक २९ गते दिउँसो १ बजेलाई राखे । २८ गते दिउँसो साढे २ बजे संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरुलाई छलफलमा बोलाए ।
‘एमालेको निरन्तर अवरोध कायम राखेर जाने कुरा भएन । एमालेले पनि निरन्तर अवरोध गर्ने कुरा भएन । यसमा के सहमतिमा पुग्न सकिन्छ पुगौं र संसदलाई गतिशिल बनाऔं भनेर सर्वदलीय बैठक बोलाइएको हो’ सभामुखको सचिवालयले भनेको छ ।
पार्टी विभाजन नहुँदै १ भदौ २०७८ मा एमालेले १४ जना सांसदलाई कारबाही गरेको सूचना संघीय संसद सचिवालयमा दिएको थियो । उक्त सूचना अनुसार सभामुखले तत्काल सूचना नटासेर पार्टी फुटाउन सहयोगी भूमिका खेलिदिएको एमालेको आरोप छ ।
यो विषयलाई लिएर एमाले सर्वोच्च अदालत गएको छ र मुद्धा अदालतमा बिचारधीन छ ।
अदालतमा बिचाराधीन विषयमाथि संसदमा छलफल गर्न नपाइने संवैधानिक व्यवस्था छ । यो विषय सभामुखले एमालेको अवरोध कायम रहँदा पटक–पटक स्मरण गराएका थिए । उनले सभामुखको आसनबाटै समस्या समाधानका लागि वार्ता र संवादबाट खोज्न सकिने बताए ।
‘विपक्षी दलका सांसदलाई संवादतर्फ अग्रसर हुनका लागि अनुरोध गर्दछु’ उनले भने, ‘हामीले सबैले गम्भीर ढंगले मनन गरेर संसद सहज ढंगले सञ्चालन हुने वातावरण बनाउन म आह्वान गर्छु, अपिल गर्छु ।’
एमाले केही लचक
एमालेले सोमबार प्रतिनिधिसभाको बैठक अघि संसदीय दलको बैठक बोलाएको थियो । बैठकलाई संवोधन गर्दै एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टीले तोकेका नाराहरु मात्र लगाउन र संसदीय मर्यादामा बसेर विरोध गर्न सांसदहरुलाई निर्देश गरे ।
शुक्रबार प्रतिनिधिसभामा प्रतिस्थापन विधेयक पेश गर्ने क्रममा एमाले सांसदहरुले रोष्टममा चढ्ने प्रयास गरेका थिए भने गृहमन्त्रीको माइक खोसेका थिए । त्यसको चर्को आलोचना भएपछि एमालेले संसदीय दलको बैठक नै बोलाएर सांसदहरुलाई सम्झाएको हो ।
‘हामी वेलमा जान्छौं । नारा लगाउँछौं । सामान्य अवस्था आयो भने विस्तारै नारा लगाउने, अलिकति बढी एग्रेसिभ भएर सभामुख वा सत्तापक्ष आउँदा चर्को आवाजमा लगाउने हुनसक्छ । तर हामीले नारा लगाउने र वेलमा जाने भन्दा बाहिर जानु हुँदैन’ ओलीले सांसदहरुलाई भने ‘म माननीयजीहरुलाई आग्रह गर्न चाहन्छु, संसदीय मर्यादाभित्र तोकिएका नाराहरु छन् । त्योभन्दा फाल्तु नारा हामी लगाउँदैनौं ।’
ओलीको निर्देशन अनुसार प्रतिनिधिसभामा एमाले सांसदहरु शुक्रबारको तुलनामा धेरै शालिन भएर प्रस्तुत भए । उनीहरुले सांसदहरुलाई उचाल्ने, रोष्ट्रममा उक्लने प्रयास गर्ने, धकेलाधकेल गर्ने जस्ता कार्य गरेनन् । पालैपलो सांसदहरुले नारा लगाएर अवरोध कायम राखे ।
एमाले संसदीय दलका नेता ओलीले पार्टीका सांसदहरुलाई जथाभावी नबोल्न समेत सचेत गरेका छन् ।
बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पेश गर्ने क्रममा शुक्रबार एमाले सांसद रेखाकुमारीले गृहमन्त्रीको माइक खोसेकी थिइन् । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सभामुखको टाउकोमा माइक हान्ने योजना रहेको प्रतिक्रिया दिएकी थिइन् ।
एमालेकी सांसद झाको प्रतिक्रियाको निकै आलोचना भएपछि संसदीय दलका नेता ओलीले प्रष्टीकरण दिएका छन्, ‘माइक हान्ने योजना थिएन, नभएको कुरा बोल्नु हुँदैन ।’ ओलीको निर्देशन अनुसार एमाले सांसदहरुले आइतबार कुनै विवादित हुने गरी प्रतिक्रिया दिएनन् ।
नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार एमालेसंग संवाद नै नगर्ने सभामुखको प्रवृति मुल समस्या हो ।
‘हामीले भन्दा भन्दा आज बल्ल सभामुखले हाम्रो पार्टीका प्रमुख सचेतक र सचेतकलाई बोलाउनुभयो । यो भन्दा अघि कहिल्यै बोलाउनुभएन’ नेम्वाङले थपे, ‘ प्रमुख प्रतिपक्षीसंग छलफल नै नगर्ने यस्तो प्रकारको रबैया र स्थितिले हो संसद अवरोध निरन्तर भएको ।’
सभामुखले संवाद थालनी गरेका कारण अब कुनै न कुनै सहमतिमा पुगिन्छ भन्ने विश्वास रहेको उनले बताए । एमाले शान्त भएपछि सबै चीज ठीक हुने उनको भनाइ छ ।
‘जसपाको हकमा, नेकपा माओवादी केन्द्रको हकमा सांसदहरुलाई कारबाही गरिएको सूचना दिनासाथ सभामुखबाट कारबाहीको सूचना जारी भयो तर, हाम्रो हकमा किन भएन ? प्रश्न यो हो’ उपनेता नेम्वाङले भने, ‘हामी (एमाले)लाई शान्त गर्नासाथ सबै चीज ठीकठाक हुन्छ ।’







