एमाले संवादबाट भाग्न खोजेको सत्तागठबन्धनको निष्कर्ष

भदौ, २८ काठमाडौं । सत्तागठबन्धनमा आवद्ध दलहरुले प्रमुख प्रतिपक्षी नेकपा एमाले संवादबाट भाग्न खोजेको निष्कर्ष निकालेको छ ।

एमालेले लगातार संसदमा नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले सोमबार संसदमा भएका दलका शीर्ष नेताहरुको बैठक बोलाएका थिए । तर एमालेका नेताहरु उपस्थित नै भएनन् । अनुपस्थित भएपछि एमाले संवादबाट भाग्न खोजेको निष्कर्ष निकालिएको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बताइन् । संवादमा आउ भन्दा नआएर समस्या समाधान नहुने उनको भनाई छ ।

बैठकपछि पौडेलले भनिन्, ‘जोसँग सम्बन्धित थियो, उहाँहरु नै आइदिनुभएन । उहाँहरु नआएपछि कसरी समस्या समाधान हुन्छ ? हामीले प्रतिपक्षलाई सम्वादमा ल्याएर सर्वदलीय बैठक बोलाउन आग्रह गरेका छौं ।’

सभामुख अग्नि सापकोटाले भने आफूले विहानसम्म पनि प्रयास गरेको, तर सम्भव नभएको बताए ।

कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङसँग सोमबार विहान भएको सम्वाद सुनाएका थिए । दलका नेताले सोमबारको बैठकमा नजान भनेका कारण आउन नसक्ने उनले बताएका थिए ।