प्रतिनिधिसभाबाट भोलि विनियोजन विधेयक पास गर्ने तयारी

१२ भित्र बजेट होलिडे तोड्ने प्रयास

असोज, ३ काठमाडौं । सरकारले प्रतिनिधिसभाबाट भोलि विनियोजन विधेयक पास गर्ने तयारी गरेको छ । सोही अनुसार संसद सचिवालयले तयारी अगाडि बढाएको छ ।

संसद सचिवालयका महासचिव भरतराज गौत्तमले सूचना निकालेर विनियोजन विधेयकको मन्त्रालयगत एवं सचिवालय अन्तर्गतका बिभन्न शिर्षकहरुमाथि समुहीकृत छलफल गर्न र मन्त्रालयगत रुपमा उठेका प्रश्नहरुको जवाफ दिने समय सभामुखले तोकेको जानकारी सांसदहरुलाई गराएका छन् ।

संसद सचिवालयका अनुसार प्रतिनिधिसभामा शुरुमा विनियोजन विधेयकको मन्त्रालयत शीर्षकमाथि छलफल हुन्छ र सांसदहरुले उठाएको प्रश्नको जवाफ अर्थमन्त्रीले दिनेछन् । त्यसपछि सांसदहरुले हालेका संशोधनमाथि छलफल हुन्छ र त्यसको जवाफ अर्थमन्त्रीले दिएपछि संशोधन प्रस्ताव स्वीकृत र अस्वीकृतको चरणमा जान्छ । र विनियोजन विधेयक पारित गरियोस भन्ने प्रस्ताव अर्थमन्त्रीले राख्नेछन् । अर्थमन्त्रीको प्रस्तावउपर दफा दफा पास गरेर विनियोजन विधेयक पारित गर्ने सरकारको तयारी छ ।

विनियोजन विधेयक पारित गरेपछि आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकमाथि बिचार गरियोस भन्ने प्रस्तावमाथि छलफल गरेर सांसदहरुलाई संशोधनका लागि समय दिने गरी प्रतिनिधिसभाको बैठक चलाउने संसद सचिवालयको तयारी छ ।

एमालेको नाराबाजीले असर गर्दैनः सत्तागठबन्धन

प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदको अवरोध खुलाउने निर्णय गरिसकेको छैन् । एमालेले अधिवेशनको पहिलो दिन देखि नै नारावाजी गर्दै आएको छ । भोलिको बैठकमा पनि एमालेले नारावाजीलाई निरन्तरता दिन सक्छ ।

तर, सत्तागठबन्धन एमालेको नाराबाजीले कुनै असर नगर्ने बताएको छ । ‘सदन खुलाउने हाम्रो प्रयास जारी छ । एमालेले सहयोग गर्छ र अनावश्यक विषय उठाउन छोड्छ भन्ने विश्वास छ’ माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले भने, ‘सहमति भएन र नारावाजी जारी नै राख्यो भने पनि बजेटलाई रोक्ने छुट सरकारलाई छैन् ।’

कांग्रेसकी सचेतक पुष्पा भुसालले पनि संसदको कार्यसूची नरोकिने बताउँछिन् । ‘मुलुक बजेट होलिडेमा छ । सदनमा नाराबाजी हुन्छ भने यसलाई के भन्ने ? सरकारको इमानदार प्रयास कार्यसूची अनुसार सदन चलोस भन्ने हुन्छ’ उनले भनिन् ।

१०/१२ भित्र बजेट होलिडे तोड्ने प्रयास

बजेटको प्रतिस्थापन विधेयक यहि असोज १२ गतेभित्र बजेट होलिडे अनत्य गर्ने सरकारको प्रयास छ ।

४ गते विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित गरेर राष्ट्रिय सभामा पठाउने । राष्ट्रिय सभाको बैठक असोज ५ गतेलाई छ । ५ गते राष्ट्रिय सभाले बिचार गरियोस भन्ने प्रस्तावमाथि छलफल गर्ने र साुंदहरुलाई संशोधनका लागि ७२ घण्टाको समय दिने । ९ गते शनिवार परेको छ । त्यसकारण १० गते राष्ट्रिय सभाले विनियोजन विधेयक पारित गर्ने । ११ गते प्रतिनिधिसभाले त्यसलाई स्वीकार गर्ने र बजेट होलिडेको अन्त्य गर्ने सरकारको तयारी छ ।

‘११ गतेभित्र बजेटको प्रतिस्थापन विधेयकको विनियोजन विधेयक दुबै हाउसबाट पारित भएको अवस्थामा बजेट खर्च गर्न सरकारलाई बाटो खुल्छ । बजेट होलिडेको अन्त्य हुन्छ भन्ने मेरो बुझाई छ’ राष्ट्रिय सभामा कांग्रेसको संसदीय दलको नेता राधेश्याम अधिकारीले भने ।