सबै प्रदेशमा वर्षा हुँदै, सावधानी अपनाउन मौसम विभागको चेतावनी

असोज १, काठमाडौं ।
जल तथा मौसम विज्ञान विभागले देशभर नै विभिन्न स्थानमा वर्षा भइरहेकाले सावधानी अपनाउन आग्रह गरेको छ । बिहीबार सबै प्रदेशमा हल्का र मध्यम वर्षा भइरहेको विभागले जनाएको छ ।

तर भारी वर्षाको सम्भावना नकार्न नमिल्ने मौसमविद्को भनाइ छ । तत्काल भने कतै भारी वर्षा नभइरहेको बताइएको छ । बिहीबार जारी मौसम पूर्वानुमान बुलेटिनअनुसार बिहीबार दिउँसो देशभर मौसम सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।

प्रदेश नं. १, बागमती र गण्डकी प्रदेश र प्रदेश नं. ५ का एक दुई स्थानमा भारी वर्षाको संकेत देखिएका छन् । यसैगरी सुदूरपश्चिम प्रदेशका केही स्थानमा उही अवस्था देखिएको विभागले जनाएको छ । बिहीबार राति पनि उस्तै सम्भावना रहेको विभागले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

साथै प्रदेश नं. १, २, बागमती, गण्डकी, प्रदेश नं. ५, तथा सुदूरपश्चिम प्रदेशका १–२ स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नदीमा पानीको बहाव बढ्न सक्ने विभागको अनुमान छ । भारी वर्षा भएको खण्डमा केही स्थानमा पहिरोको समेत जोखिम रहेकाले सडक तथा हवाइ यातायात प्रभावित हुनसक्ने भन्दै सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।