पर्यटकका लागि अनअराइभल भिसा खुला

असोज, ७ काठमाडौं । ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश २०७८’ सार्वजनिक गर्दै सरकारले पर्यटकका लागि सर्तसहित अनअराइभल भिसा खुला गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जारी गरेको सर्तसहित अनअराइभल भिसा खुला गरेसँगै नजिकिएको पर्यटन सिजनमा नेपाल आउन चाहने विदेशी पर्यटकलाई सहज हुने भएको हो ।

नेपालको कानून अनुसार अनअराइभल भिसा पाउने मुलुकका नागरिकले खोपको मात्रा पूरा गरेको अवस्थामा अनअराइभल भिसा दिइने भएको हो । यसक्रममा पर्यटकले भिसाका लागि आवश्यक कागजातसहित कोभिड–१९ विरुद्धको खोपको मात्रा पूरा गरेको १४ दिन कटेको प्रमाण पेस गर्नुपर्ने छ । यात्रुको साथमा हवाई उडानको चेकइन हुनुभन्दा ७२ घण्टा भित्रको पीसीआर परीक्षणको रिपोर्ट समेत अनिवार्य हुनुपर्छ ।

पर्वतारोहण र पदयात्रा तथा अनुमति लिनुपर्ने अन्य विषयको हकमा सोसम्बन्धी अनुमति समेत देखाउनु पर्नेछ । पर्यटकले नेपालमा होटेल बुक गरेको प्रमाण समेत साथमा बोक्नु पर्नेछ ।