कालिकोट कोरोनामुक्त

असोज १, कालिकोट ।
कालिकोट कोरोना संक्रमणमुक्त जिल्ला बनेको छ । बुधबार जिल्लाको तिलागुफा नगरपालिका–४ राँचुली आइसोलेसनबाट २० जना संक्रमित निको भएर घर फर्किएपछि कोरोना संक्रमणमुक्त जिल्ला बनेको हो ।

जिल्लाभर एक सय जनामा कोरोना देखिएकोमा सबै जना निको भएर घर गएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका निमित्त व्यवस्थापक कटकबहादुर महतले जानकारी दिए । कालिकोटमा हालसम्म ५ हजार ६ सय ९० जनाको पिसिआर विधिबाट स्वाब परीक्षण गरिएको र दुई हजार ६६१ जनाको आरडिटी विधिबाट कोरोनाको परीक्षण गरिएकोमा एक सय जनामा संक्रमण देखिएको थियो ।

जिल्लाका नौ स्थानीय तहमध्ये पचालझरना गाउँपालिकाबाहेकका सबै स्थानीय तहमा कोरोना बिरामी भेटिएको महतले बताए । कालिकोटमा कोभिड–१९ को उपचारका लागि १०० शय्याको अस्पताल निर्माण भएको छ । कोरोनाका बिरामी भेटिए अब त्यसैमा उपचार गरिनेछ । (रासस)