असोज, ९ ब्राजिलिया । ब्राजिलको राष्ट्रपति जैर बोल्सोनारोका छोरालाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
सांसदसमेत रहेका एडुर्डो बोल्सोनारोले आफु सङ्क्रमित भएको शुक्रबार जानकारी दिएका हुन
संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्कगएको टोली मध्ये उनी तेस्रो सङ्क्रमित हुन् ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत् ३७ बर्षिय बोल्सोनारोले आफुलाई कुनै गाह्रो महसुस नभएको र अवस्था सामान्य नै रहेको जानकारी दिए । उनले आफैँले आफैँलाई हेरविचार गरिरहेको पनि बताए ।
यसअघि ब्राजिलका स्वास्थ्य मन्त्री मार्कोलो क्वेरोगालाई पनि गत मंगलबार सङ्क्रमण पुष्टि भएको थियो । न्युयोर्कमै रहेका बेला उनलाई सङ्क्रमण पुष्टि भएकाले उनी अहिले न्युयोर्कस्थीत एक होटलमा एकान्तवासमा बसेका थिए ।
त्यस बाहेक अर्का एक जना कुटनीतिज्ञ पनि कोरोनाभाइरसबाट सङ्क्रमित भएको अधिकारीले जानकारी दिएका छन् ।
अहिलेसम्म राष्ट्रपति बोल्सोनारो भने जोगिन सफल हुनुभएको जनाइएको छ । मास्क र खोपको विरोधीसमेत रहेका बोल्सोनारोले महासभामा सहभागी भएका बेला पनि मास्क प्रयोग गर्नु भएको थिएन भने खोप पनि लगाउनु भएको थिएन ।







