विवाहको न्युनतम उमेर १८ वर्षमा झार्ने प्रस्ताव

असोज, १८ काठमाडौं । सांसदहरुले विवाहको न्युनतम उमेर १८ वर्षमा झार्ने प्रस्ताव राखेका छन् । हाल नेपालको कानुनमा २० वर्ष पुगेपछि मात्र विवाह गर्न पाइने व्यवस्था छ । तर, १८ वर्षमै सावालिक हुने र १८ वर्ष भन्दा पहिलेको यौन सम्बन्ध अवैध ठहर्छ । १८ वर्षमा सावालिक हुने, १८ वर्ष माथिको यौन सम्बन्ध वैध ठहर्ने तर, विवाहको न्युनतम उमेर चाहीँ २० वर्ष राख्ने व्यवस्था अव्यवहारिक रहेको भन्दै सांसदहरुले १८ वर्षमा नै विवाह गर्न पाउने व्यवस्थाको वकालत गरेका हुन् ।

सोमबार प्रतिनिधिसभाको कानुन, न्याय तथा माधव अधिकार समितिमा करणी सम्बन्धी कसुरहरुको विषयमा छलफल थियो । बैठकमा बलात्कारसँग सम्बन्धित कानुनका विषयमा छलफल गर्दै सांसदहरुले कानुनले १८ वर्षमा वालिग हुने व्यवस्था गरिसकेपछि विवाह गर्नका लागि उमेर हद तोकिरहनु नपर्ने धारणा राखेका हुन् ।

सांसदहरु नेपाली कांग्रेसका मीन विश्वकर्मा, लोकतान्त्रिक समाजवादी पार्टीका लक्ष्मणलाल कर्ण, नेकपा माओवादी केन्द्रका मातृका यादव र नेकपा एमाले सांसद तथा समिति सभापति कृष्णभक्त पोखरेलले यस्तो प्रस्ताव गरे ।

‘अब बिबाहको उमेर १८ मा झार्नुपर्छ’ समिति सभापति पोखरेलले भने ।

लिभिङ टुगेदरलाई पनि दर्तामा ल्याउँ : मातृका यादव

सांसद मातृका यादवले भने लिभिङ टुगेदरलाई पनि दर्ता गर्नुपर्ने धारणा राखेका छन् ।

‘त्यो पनि अस्थायी विवाह हो नि । त्यो बिफोर म्यारिज हो । पछि परिवार मानेन भन्ने वहानामा तोडिन पुग्छ । यस्ता गतिविधि रोक्न लिभिन टुगेदरको पनि दर्ता गर्नपर्ने हुन्छ’ बैठकमा उनले भने ।