संसद बैठक १८ दिनका लागि स्थगित

कात्तिक, ११ काठमाडौं । प्रतिनिधिसभाको बैठक १८ दिनका लागि स्थगित भएको छ ।

बिहीबार बसेको प्रतिनिधिसभाका बैठकमा गजेन्द्र हमालले उद्योगमन्त्रीबाट दिएको राजीनामाबारे राष्ट्रपतिको कार्यलयबाट प्राप्त पत्र सभामुखले बाचन गरेर सुनाए ।

प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र प्रसाद बडूले राष्ट्रिय दलित आयोगको बार्षिक प्रतिवेदन पेश गरे ।

सभामुखले सांसदहरुको अनुपस्थितिको सूचनाहरु स्वीकृतिका लागि प्रस्तुत गरे । सांसद झलनाथ खनाल, कर्मा घले र प्रदीप गिरी बिरामी भएर १३ वटा बैठकमा अनुपस्थित भएको, सांसद कर्मा घले १३ वटा बैठकमा अनुपस्थित रहेको सूचना सभामुखले प्रस्तुत गरेपछि सभाले स्विकृत ग¥यो ।

एमालेको नाराबाजी कायमै

बिहीबारको बैठकमा पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजी भने कायमै रह्यो । सभामुख सापकोटाले ‘प्रतिनिधिसभाको कामकारबाही शुरु हुन्छ’ भन्ने वित्तिकै एमालेका सांसदहरुले नाराबाजी शुरु गरे । सभामुखले सदनको कामकारबाही अवरुद्ध हुँदा जनसरोकारका विषयमा छलफल हुन नपाएको भन्दै संसदमा जारी नराबाजी रोक्न खुलाउन एमालेका सांसदहरुलाई आग्रह गरे । तर, एमालेले नाराबाजी कायमै राख्यो ।

२३ साउन २०७८ बाट सुरु भएको चालु अधिवेशनमा एमालेले निरन्तर नाराबाजी गर्दै आएको छ । एमालेले पार्टीले कारबाही गरेका १४ जना सांसद पदमुक्त भएको सूचना टाँस गरिनुपर्ने माग राखेको छ । अन्यथा सदन चल्न नदिने उनीहरुको अडान छ । तर, सभामुख सापकोटाले यो विषय सर्वोच्च अदालतमा बिचाराधीन रहेको भनेर एमालेलाई सम्झाउँदै आएका छन् । एमालेले भने १४ जना सांसद कारबाहीमा परेको सूचना टाँस नगर्ने भए सभामुखले राजीनामा दिनुपर्ने बताएको छ ।